बुधबार, माघ २, २०८१
22:13 | ०३:५८

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण र गोर्खा समस्या समाधानमा डा. कोइरालाले दिए जोड

नेपाली लिङ्क जनवरी १४, २०२५

लन्डन । नेपाली कांग्रेसका नेता वरिष्ठ डा. शेखर कोइरालाले लन्डनमा बेलायत–नेपाल आपसी सम्बन्धबारे सम्बोधन गरेका छन् ।

कोइरालाले १३ जनवरीका दिन बेलायती संसद हाउस अफ कमन्सको पोर्टकुलिस हाउसमा बेलायती विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमससहितको उपस्थितिमा नेपाली डायष्पोरालाई सम्बोधन गरेका हुन् ।

कोइरालाले सम्बोधनका क्रममा बेलायत नेपाल सम्बन्धको चर्चा गर्दै अहिलेसम्म बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण नहुनु दुःखद भएको बताउंदै नेपाल र नेपाली जनता ब्रिटिश प्रधानमन्त्रीलाई स्वागत गर्न आतुर रहेको बताए । उनले भूतपूर्व गोर्खाहरुका माग सम्बोधन गर्न, नेपालमा लगानी र सहयोग बढाउन पनि अपिल गरे । कोइरालाले अंग्रेजीमा राखेको मन्तव्यको नेपाली अनुवादः

नेपाल बेलायत सम्बन्ध र भविष्यका अपेक्षाहरु

माननीय क्याथरिन वेष्ट, माननीय गेरेथ थोमस

माननीय संसद सदस्यहरु, महिला तथा सज्जनवृन्द

नमस्कार

नयाँ वर्ष २०२५ को अवसरमा म यहाँहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै हालै सम्पन्न निर्वाचनमा लेवर पार्टीको प्रभावशाली विजयका लागि बधाई ज्ञापन गर्न चाहान्छु । म सम्माननीय कियर स्टार्मर नेतृत्वको सरकारको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु ।

नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र गतिशील सम्बन्धको चर्चा गर्न आज यहाँ उपस्थित हुन पाउँदा म आफूलाई गौरवान्वित महसुस गरिरहेको छु । आजको यहाँहरुको यो कार्यक्रमको उपस्थिति हाम्रो वलियो मित्रताको जग भएको मेरो विश्वास छ । दुई शताव्दी भन्दा लामो हाम्रो सम्बन्धका बारेमा चर्चा गर्न यहाँ आउँदा पाएको न्यानो आतिथ्यताका कारण म अत्यन्त हर्षित भएको छु ।

महिला तथा सज्जनबृन्द,

दुई शताव्दी अगाडि बेलायती प्रधानमन्त्री, लर्ड पामस्र्टनले भनेझैं, “संसारमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैनन्, केवल पारस्परिक हित हुन्छन्” । त्यही पारस्परिक हितका कारण नेपाल र संयुक्त अधिराज्यलाई आज यहाँसम्म ल्याएको छ । हामी यो अत्यन्त सुमधुर सम्बन्धको उच्च सम्मान गर्दछौं । यही सम्बन्धका कारण विगत देखि नै हाम्रा पूर्वज कैयन नेपालीले बेलायतको तर्फवाट युद्धमा भाग लिए । कैयनले ज्यान समेत गुमाए । आजपनि हामी हाम्रा पारस्परिक हितका क्षेत्रमा सँगै काम गर्न दृढ छौं ।

हाम्रा दुई देश बीचका ऐतिहासिक सम्बन्धलाई आजका दिनमा जनस्तरको सहकार्यले बढाउँदै लगेको छ । यही सम्बन्धको आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसदको तर्फवाट निरन्तर सहयोगको लागि म बेलायती सरकारलाई हार्दिक आभार प्रकट गर्न चाहान्छु । साथै वेलायती सरकार, राजनीतिक दलहरु, यहाँको संसद र वेलायती नागरिकहरुमा नेपाल प्रति यहाँहरुले राख्नुभएको आदर र सद्भावको लागि हार्दिक धन्यवाद दिन चाहान्छु ।


साथीहरु, 

नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै हाम्रा दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार हो । दुवै देशमा जेजस्ता परिवर्तन भएपनि हाम्रो दुई देशका बीचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ बन्दै गयो । दुईलाख भन्दा बढी गोर्खा सैनिकले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमुल्य जीवन पनि गुमाए । वेलायती सरकारले उनीहरुको समर्पण र वलिदानको कदर गरी सम्मान गरेकोमा म खुशी छु ।

सन् १९२३ मा नेपाल र वेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र को रुपमा विधिवत् विश्वसामु चिनायो । नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको यस कदमको हामी आभार प्रकट गर्दछौं । आज संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १८२ राष्ट्रसँग हाम्रो कूटनीतिक सम्बन्ध छ ।

समयसँगै हामीले हाम्रो सम्बन्धलाई हार्दिकता, विश्वास र सम्मानका साथ बहुआयामिक र पारस्परिक हितमा बदल्यौं । वेलायत नेपालको आर्थिक सामाजिक रुपान्तरणको अभियानमा महत्वपूर्ण सहयोगी रहेको छ । म आफैं पूर्वी नेपालको वासिन्दा हुँ, जहाँ सुरु सुरुका बेलायती सहयोगमा बनेका पूर्वाधारले धेरै सहयोग गरेको छ ।

नेपालमा संकट परेको बेलामा बेलायतले गरेका निरन्तर सहयोगले हाम्रा दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको छ । म आफैं एउटा चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनासकारी भूकम्प र कोभिडको बेलामा गरेको सुरुका सहयोगहरु देखेको छु । त्यो बेलामा बेलायती विशेषज्ञहरुले गरेको सेवा र प्रदान गरेका उपकरणहरु हाम्रालागि अत्यन्त उपयोगी रहे । यस्ता व्यवहारका कारण हाम्रो बेलायतीहरु प्रतिको श्रद्धा अझ बढेको छ ।

महिला तथा सज्जनवृन्द,

नेपालको जलविद्युत, पर्यटन तथा कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्दछ । नेपाल सरकारले बैदेशिक लगानी मैत्री वातावरण बनाएको छ । नेपालमा बेलायती लगानी राम्रो भएपनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ ।

नेपाल विश्वका द्रुतगतिमा आर्थिक विकास गरिरहेका र ठूला बजार भएका दुई देशका बीचमा अवस्थित छ । ती दुबै देशले हामीलाई व्यापारमा धेरै सुविधा दिन्छन् । यस्तो अवस्थामा बेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौं । तसर्थ म स्वच्छ उर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरुमा आग्रह गर्न चाहान्छु ।

बेलायत नेपालको प्रखुम व्यापारिक साझेदार हो । तथ्यांकले नेपाल धेरै नै व्यापार घाटामा रहेको देखाउँछ । संयुक्त अधिराज्यको ‘इन्हान्सड फ्रेम वर्क स्किम’ अन्तर्गत प्राथमिकता प्राप्त बजार सुविधा हुँदा नेपाली उत्पादनहरुको उपलव्धता बेलायती बजारमा बढाउनुपर्ने देखिन्छ ।

अब म यहाँ बस्ने नेपाली डायस्पोराको बारेमा केही भन्न चाहन्छु । चिकित्सक, नर्स, वकिल, विमान चालक, इन्जिनियर, एकाउन्टेन्ट र आतिथ्यताका क्षेत्र लगायत सबै क्षेत्रमा काम गर्ने नेपालीहरुले यहाँको चलायमान अर्थतन्त्रलाई अझ गतिशील बनाउन मद्दत गरिरहेका छन् । बढ्दो संख्याका नेपाली मुलका साथीहरु यहाँको चुनाव र चुनावी प्रकृयामा भाग लिइरहेको थाहा पाउँदा खुशी लागेको छ ।

नेपालका विभिन्न शहरहरु र संयुक्त अधिराज्यका विभिन्न शहरहरुका बीचको भगिनी सम्बन्धले जनस्तरको मित्रता प्रगाढ बनाएको छ । प्रतिष्ठित छात्रवृत्ति कार्यक्रम र यसका पूर्वविद्यार्थी समुहले जनस्तरको संवाद बढाएका छन् । माथिको तथ्यहरुले हाम्रो दुईपक्षीय मित्रता कति फराकिलो, सहयोगी र समृद्ध छ भन्ने दर्शाउँछ ।

बेलाबेलाको उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरु, ब्यवसायिक, व्यापारिक र साँस्कृतिक आवतजावत आदीले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मद्दत गर्दछ । दुई देशका साँसदहरुको भ्रमणको आदानप्रदान त हाम्रो जस्तो बहुआयामिक सम्बन्धमा अझ जरुरी हुन्छ ।


आदरणीय साथीहरु, 

यहाँहरुलाई थाहा भएकै कुरा हो, विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्वीनिमा भएको थियो । त्यसैगरी वेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ । यी दुई शान्ति र लोकतन्त्रको मान्यताले हाम्रा दुई देशको सम्बन्धलाई कसिलो बनाउँछ ।

म नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ । हामीले सन् १९४० को दशक देखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरु व्यहोरेका छौं । नेपालले धेरै राजनीतिक परिवर्तन देखेको छ । हाम्रो देश लामो र दुखद आन्तरिक द्वन्दमा परेको छ । नेपाललाई लोकतान्त्रिक मुलुक बनाउने प्रकृयामा नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ । अझ सशस्त्र माओवादी विद्रोहबाट शान्तिपुर्ण संबैधानिक सरकार बनाउने काम नेपाली कांग्रेसको नेतृत्वमा भएकोछ । अझै धेरै काम बाँकी छन् । विगतमा विवेधमा परेका र हालका आन्दोलनबाट प्रभावित भएकाहरुको आँशु पुछ्ने काम जारी छ ।

नेपालको संसदले हालै संक्रमणकालीन न्याय सम्बन्धी र सत्य निरुपण आयोग बनाउने सम्बन्धी विधेयक पास गरेको छ । मलाई विश्वास छ, अब यसले सुशासनको माध्यमबाट राजनीतिक संक्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल बनाउने हाम्रो बाचा पुरा गर्नेछ । हामी हाम्रो यस प्रयासमा वेलायतको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

हामी विकासका लागि लोकतन्त्र अपरिहार्य भएको विश्वास गर्दछौं । यसकालागि हामी जनअपेक्षा पुरा गर्न गाउँ र वडास्तरमा संघीय संरचना अनुरुप लोकतान्त्रिक संस्थाहरुलाई बलियो बनाउने प्रयासमा छौं । यसले सेवालाई गाउँ र वडास्तर सम्मै पुरयाउन मदत गर्दछ । जनताले अनुभव गर्ने विकास नभई लोकतन्त्रको कुनै अर्थ हुन्न । त्यसैले हाम्रा जस्तो नयाँ लोकतन्त्रका लागि लोकतन्त्र, विकास र सेवा प्रवाह एकअर्काका परिपूरक भएका छन् र हामी त्यसैमा लागेका छौं ।

आज हामी यो प्रयासमा विभिन्न चुनौतिहरु सामना गर्दैछौं । लोकरिझ्याँई गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले वहुलवाद र विकासलाई चुनौति दिइरहेकाछन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै बुझेर सचेत गराउँदै भन्नुभएको थियो, “लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न ।” उहाँका ती वाक्य आज अझ सान्दर्भिक भएका छन् ।

नेपालको प्रमुख लोकतान्त्रिक समाजबादी पार्टीको प्रतिनिधिको नाताले म वेलायतको लेवर पार्टी प्रति यहाँले हाम्रा नेता वीपी कोइरालाको जीवन कालका अत्यन्त कठिन समय, जेल जीवनमा, निर्वासनका बेलामा र लोकतान्त्रिक आन्दोलनका बेलामा दर्शाउनुभएको सद्भाव र एकताका लागि विशेष धन्यवाद दिन चाहान्छु । वीपी कोइरालाले सन् १९७० मा व्ल्याकपुलमा भएको लेवर पार्टीको सम्मेलनमा भाग लिनुभएको म यहाँ गौरवका साथ स्मरण गर्न चाहान्छु । यसरी नेपाल र नेपालीहरुमा ऐतिहासिक एकता, आपसी समझदारी, सद्भावना र सहयोगका लागि म मेरो र नेपाली कांग्रेस पार्टीको तर्फवाट लेवर पार्टीप्रति आभार प्रकट गर्न चाहान्छु । साथै यो मित्रताको निरन्तरताको विश्वास व्यक्त गर्दछु ।

माथिका तथ्यका आधारमा म तलका केही बुँदाहरु सहित आफ्नो भनाई अन्त्य गर्न चाहन्छु । 

१. विश्वमा शितयुद्धको समाप्तिसँगै राजनीति, अर्थतन्त्र र रणनीतिक दृष्टि इण्डो प्यासिफिक क्षेत्र र दक्षिण एसिया तर्फ मोढिएको छ । दक्षिण एसियाका ठुलो जनसंख्या विश्वका अरु देशमा गई त्यहाँको व्यवसायिक र सामाजिक जीवनमा परिवर्तनका लागि काम गरिरहेकाछन् । यही क्रममा नेपाली डायस्पोरा वेलायतमा बसी नेपाल वेलायत सम्बन्धलाई अझ बलियो बनाउन लागि परेको म देखिरेहेको छु । यसले नेपालमा लोकतान्त्रिक संस्थाको विकास र मानव अधिकारको क्षेत्रमा समेत योगदान पुर्याएको छ । साथै नेपाल व्रिटेन सोसाइटी र ब्रिटेन नेपाल सोसाइटिले समेत यस कार्यमा योगदान पुर्याइरहेकाछन् ।

२. भूपरिवेष्ठित र अति कम विकसित मुलुक नेपालले विश्व वातावरणीय प्रभावमा आफ्नो योगदान नभइ पनि विभिन्न चुनौति सामना गरिरहेको छ । हाम्रो हिमालयन इकोसिस्टममा परेको प्रभावको न्यूनिकरण र वित्तपोषणको कार्यमा हाम्रा वेलायती साथीहरुले हामीलाई सहयोग गर्न सक्नुहुनेछ ।

३. हाम्रालागि दुई विशाल र शक्तिशाली राष्ट्रहरुका बीच सुमधुर सम्बन्ध राख्नु भौगोलिक आवश्यकता मात्र नभई विकेकपूर्ण ढंगबाट सञ्चालन हुने हाम्रो परराष्ट्र नीतिको आधारशिला समेत हो । नेपालको पुरानो साथी र पश्चिमा शक्तिको रुपमा बेलायतको नेपालको असंलग्न परराष्ट्र् नीतिको बुझाइले हामीलाई विश्व राजनीतिमा सहयोग पुग्छ ।

४. मैले माथि नै भनें, गोर्खा सैनिकको रुपमा नेपालीहरुले पुर्याएको सेवा हाम्रो सम्बन्धको केन्द्र हो । मेरो बुझाइमा उनीहरुका गुनासा सुन्न दुईपक्षीय समिति कार्यरत छ । हाम्रो लामो र गहन सम्बन्ध, उनीहरुले वेलायतमा इमान्दारिपूर्वक गरेको सेवा समेतलाई मध्यनजर गर्दै उनीहरुका जायज माग ढिला नगरी सम्बोधन गरिदिनुहुन म आग्रह गर्न चाहन्छु ।

५. अन्त्यमा मलाई विश्वास लागिरहेको छैन, दुईसय वर्षको अवधिमा कुनै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुभएको छैन । अत्यन्त द्रुत गतिमा परिवर्तन भईरहेको विश्वमा हाम्रो जस्तो सम्बन्ध भएका दुई देशका लागि प्रधानमन्त्रीको यो बहुप्रतिक्षित भ्रमणले फलदायी सन्देश दिनेछ ।

लामो, ऐतिहासिक, साझा भोगाइहरु र समान आकांक्षाबाट बनेको हाम्रो सम्बन्ध परिवर्तित अबस्थामा पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छ । लोकतन्त्र, मानव अधिकार, वहुलवाद, सुशासन हाम्रा जनताका आकांक्षा र हाम्रा सरकारका प्रतिवद्धता हुन् । यही मूल्य र मान्यताले हाम्रो मित्रतालाई अझ उचाइमा पुर्याउन मद्यत गर्दछ ।

यही अपेक्षाका साथ म यो सम्वादलाई लन्डनमा स्वागत गर्दछु र काठमाण्डौमा समेत निरन्तरता दिने विश्वास दिलाउन चाहन्छु ।

धन्यवाद

नेपाल ब्रिटेन मैत्री अमर रहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू