डा कोइरालाको उपस्थितिमा लन्डनमा एनपिसिसी यूकेको एकता तथा मेलमिलाप दिवस
लन्डन- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनुको सट्टा एकपछि अर्को अध्यादेश ल्याएकामा सरकारको विरोध गरेका छन्।
हाल बेलायत भ्रमणमा रहेका कोइरालाले आइतबार कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति (एनपिसिसी) बेलायतद्वारा उनको सम्मानमा लन्डनमा आयोजित एक कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन्।
यस्ता क्रियाकलापले नेपाली कांग्रेस र एमालेको झण्डै दुई तिहाई बहुमतको सरकार कतै तानाशाही त हुन लागेको होइन भन्ने चिन्ता आफूलाई लागेको उनले बताए ।
यो सरकारलाई असफल हुने छुट नभएको भन्दै कोइरालाले प्रजातान्त्रिक मुल्य मान्यता अनुसार आगाडि बढ्नु पर्नेमा जोड दिए । उनले गैरआवसीय नेपाली नागरिकहरूलाई १० वर्षको निःशुल्क भिसा दिने गरी ल्याइएको अध्यादेशप्रति असन्तुष्ट व्यक्त गर्दै भने– ‘नेपाली नागरिकता दिइसकेपछि भिसाको कुरै आउंदैन । सरकारले यो ‘ननसेन्स’ निर्णय सच्याउनुपर्छ ।’
डा कोइरालाले डायस्पोराका नेपालीहरु एकआपसकै फुट र विभाजनले कमजोर बन्दै गएको ठिप्पणी पनि गरे ।
‘किन यति धेरै संस्थाहरु चाहियो ? एउटै संस्था बनाएर आउनुहोस्, तपाईंहरुले हामीलाई हल्लाइदिनुहुन्छ’, उनले भने, ‘तपाईंहरु एक ढिक्का हुनुहोस् । विभाजित हुंदा राजनीतिक दलहरुले अनावश्यक खेल्ने मौका पाएका छन्।’
बेलायती विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा गत ९ जनवरीमा बेलायत आएका नेता कोइरालाले सोमबार बेलायती संसद भवन वेस्टमिनिस्टरमा बेलायत–नेपाल आपसी सम्बन्धबारे हुने एक अन्तरक्रियालाई सम्बोधन गर्दैछन् ।
नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति युवराज सिंहको सभापतित्वमा भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रममा बेलायतस्थित काँग्रेस नेताहरु डा सम्पूर्णानन्द ढुंगाना, विश्वआदर्श पण्डित, आरके त्रिपाठी, केशव भण्डारी, राजन खरेल, एनआरएनए केन्द्रीय सचिव दयानिधि सापकोटा, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटासहित समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरुले आफ्नो मन्तव्य राखेका थिए।
जनसम्पर्क समिति बेलायतका महामन्त्री कुश बस्नेतले सञ्चालन गरेको कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई समितिका सभापति युवराज सिंहले धन्यवाद ज्ञापन गरे ।
तस्विर: प्रकाश कंडेल
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५