हेल्प नेपाल नेटवर्क यूकेको २५ औं वार्षिकोत्सव
लन्डन- हेल्प नेपाल नेटवर्क यूकेले स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ ।
उक्त च्यारिटी संस्थाले आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथी कार्यवहाक राजदूत विपिन दुवाडीले शुभकामना दिंदै हेल्प नेपालले नेपालका लागि ठूलो योगदान गरेको बताए । ‘देश दुःख्दा विदेशमा झन् बढी दुख्छ, तपाईंहरुले नेपाल अप्ठेरोमा पर्दा सहयोग गरिरहनु भएको छ । यो प्रशंसनीय छ’, उनले भने ।
अरुको अस्तित्व स्वीकार्न सक्नु नै मानवता भएको जनाउंदै उनले हेल्प नेपालले त्यो मानवता प्रदर्शन गरेको बताए । प्रशासनिक खर्च नगरि चन्दा रकम सबै च्यारिटीमा लगाउनु निकै सरहानीय भएको उनको भनाइ थियो ।
हेल्प नेपालका आउटकम ट्याङजिवल (देखिने खालका) होस् भन्ने सुझाव दुवाडीले दिए । हेल्प नेपालको कार्यमा दूतावासले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै उपाध्यक्ष प्रसिद्ध प्रधानले परोपकारमार्फत् नेपाली डायष्पोरालाई नेपालसंग जोड्ने उद्धेश्यले स्थापित हेल्प नेपाल अहिले करिब एक दर्जन देशमा फैलिएको जनाए ।
अध्यक्ष सचिन श्रेष्ठले आफ्नो संस्थाले गरेका कार्यक्रमबारे पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत जानकारी दिंदै हेल्प नेपाल नेटवर्कले विशेष गरि शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिमा सहयोग (डिजास्टर रिलिफ) गरिरहेको बताए।
श्रेष्ठले व्यवहारिक परोपकार मूल उद्धेश्य रहेको जनाउंदै हालसम्म संस्थाले १७ हेल्थ क्याम्पसहित २१ स्वास्थ्यसम्बन्धी प्रोजेक्ट गरेको, ४० लाइब्रेरी र ५० बढी इ-लाइब्रेरी स्थापना गरिदिएको, ६८ वटा स्कुल मर्मत, पुनस्थापनालगायत सहयोग गरेको र तीन हेल्थ पोष्ट सञ्चालन गरिरहेको जनाए ।
संस्थाले काभ्रेको धुलिखेलस्थित बालगृह (चिल्ड्रेन्स होम) र मुगु हेल्थ पोष्ट सञ्चालन गरिरहेको अनि त्यसका लागि वार्षिक एक करोड रुपैयां बढी खर्च हुने अध्यक्ष श्रेष्ठले बताए ।
संस्था स्थापनाको २५ वर्षमा धेरै आरोह अवरोह सामना गर्नु परेपनि सबैको सहयोगले संस्था सञ्चालन भइरहेको उनले बताए । श्रेष्ठका अनुसार, संस्थाको बैंक खातामा ७ करोड मौज्जाद छ र ५० लाख वार्षिक ब्याज आउंछ जुन प्रोजेक्ट सञ्चालनमा खर्च हुने गरेको छ ।
श्रेष्ठले कम्युनिटीलाई ‘इन्सपायर’ गर्ने र समुदायमा सकारात्मक सन्देश फैलाउने संस्थाको उद्देश्य रहेको जनाउंदै आफूहरुले पुरै पैसा लगाएर प्रोजेक्ट नगरि स्थानीय मानिसलाई पनि अपनत्व होस् भनेर ४० प्रतिशत खर्च स्थानीय श्रमदान वा चन्दाबाट गर्न लगाइ प्रोजेक्टमा संलग्न गराइएको बताए ।
वरिष्ठ पत्रकार भगीरथ योगीले सञ्चालन गरेको कार्यक्रममा शिव कल्चर मन्दिर अध्यक्ष विक्रम भट्टराई, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, नेपाल पत्रकार महासंघ बेलायतका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल, समाजसेवी शिवजी श्रेष्ठ, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, आरजिएनएसका महासचिव ह्यारी गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स अध्यक्ष डा. कपिल रिजाल, अधिवक्ता सुरेन्द्र श्रेष्ठ, समाजसेवी एकिन्द्र गुरुङ, युवा उद्यमी किशोर सापकोटा, तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले शुभकामना दिएका थिए ।
त्यसैगरि, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, एनआरएनए यूके आइसीसी सदस्य दिलरास गुरुङ र ले. रि. चन्द्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार चिरन्जिवी ढकालले पनि शुभकामना दिंदै संस्थाको परोपकारी कार्यले अझ तीव्रता पाओस् भन्ने कामना गरेका थिए ।
हेल्प नेपालको सहयोगार्थ ल्हासादेखि माउण्ट एभरेष्ट हुंदै काठमाडौं साइकल यात्रा गरेका दिनेश पालले आफ्नो अनुभव सुनाए ।
मुगु हेल्थ पोष्टमा प्रोजेक्ट लाने तयारी गरेका डा. सुदर्शन गुरुङले ‘जहां छन् बुद्धका आंखा’ गीत गाएर आफ्नो प्रोजेक्टबारे बोलेका थिए ।
रगत विशेषज्ञ र ब्रिटिश आर्मीका मेजर समेत रहेका डा. गुरुङले ‘ब्लड फर नेपाल’ प्रोजेक्ट गर्न लागेको जनाउंदै नेपालका चिकित्सकहरुलाई तालिम दिने बताए । उनले झण्डै तीन करोड जनसंख्या रहेको नेपालमा अझै पनि दक्ष चिकित्सक अभाव रहेको उनले बताए ।
एकजना स्वयंसेवक चन्द्र देवकोटाले हेल्प नेपालको उद्देश्यबाट प्रभावित भएर च्यारिटी कार्यक्रम गर्दै आएको जनाउंदै भविष्यमा पनि त्यस कार्यमा निरन्तर लागिरहने प्रतिवद्धता जनाए ।
हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार सूर्य गुरुङले धन्यवाद मन्तव्य दिंदै संस्थाले दुरदर्शी काम गरिरहेको बताए । धेरै च्यारिटी संस्थाले प्रशासनिक खर्च कटाएरमात्र बांकी रकम सम्बन्धित ठाउंमा पठाउने गर्ने गरेपनि हेल्प नेपालले शत प्रतिशत चन्दा दिने भएकाले सहयोग गरिदिन सबैमा अपिल गरे ।
‘यो संस्था अहिले एक पवित्र र साझा ग्लोवल संस्था बन्दै गएको छ । तपाईंहरुको साथले नै यो सम्भव भएको हो’, गुरुङले भने ।
सो अवसरमा हेल्प नेपाल नेटवर्कको २५ औं वार्षिकोत्सवको अवसरमा नेपाली साइकिलिङ क्लब यूके टीमले आगामी मे महिनामा पोर्चुगलदेखि स्पेनसम्मको च्यारिटी साइकल यात्रा गर्ने घोषणा गरियो । उक्त साइकलयात्राबाट संकलित कोष डा सुदर्शन गुरुङले मुगुमा सञ्चालन गर्ने हेल्थ प्रोजेक्टमा खर्च गरिनेछ ।
कार्यक्रममा संस्थाले विभिन्न कालखण्डमा आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगी एवं स्वयंसेवकहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रमुख अतिथी कार्यवाहक राजदूत दुवाडीले प्रशंसा पत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा चित्रकार गोविन्द शाह आजादले प्रायोजन गरेको चित्रकला (मण्डला) र सुशील प्रजापतिले प्रायोजन गरेको सारंगी समाजसेवी लक्षुमन गुरुङले अक्सन गराएका थिए ।