लन्डन दूतावासमा वरिष्ठ नेता कोइरालाले गरे सम्बोधन


लन्डन- सत्तारुढ घटकमध्ये एक दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले अहिले नेपालको राजनीति अत्यन्तै तरल रहेको बताएका छन्।
लन्डनस्थित नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल अत्यन्त तरल स्थितिबाट गुज्रिरहेको जनाए। ‘यस भन्दा बढी भन्न चाहन्न’- उनले भने।
नेता कोइरालाले बेलायतबाट नेपाल जाने लगानी घटिरहेको र दोहोरो करको समस्या रहेको पनि जनाए। उनले नेपालमा ‘रेड टेपिज्म’ बढिरहेको भन्दै लगानी आकर्षित गर्न अहिलेको सरकारले काम गरिरहेको जनाए।
बेलायत सरकारले नेपालबाट आयात गरिने विभिन्न वस्तुहरुमा सुविधा दिएको भए पनि नेपालले फाइदा लिन नसकेको उनको भनाइ थियो ।
गैर आवासीय नेपाली नागरिकता ‘कागजको खोस्टो’ भएको भन्दै आलोचना गरिएको आफूले सुनेको कोइरालाले बताए। यसमा सुधार जरुरी रहेको भन्दै उनले नेपालमा सुशासन नभएका कारण यो समस्या आएको पनि बताए।
उनले भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनको विषय ब्रिटिश मन्त्रीहरुसंग उठाउने पनि जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले बेलायतको नेपाली डायस्पोरा बलियो, शिक्षित र गौरव गर्न लायकको भएको बताए। उनले यहाँ बसोबास गरिरहेका नेपालीहरु नेपालको कुनै पनि विषयमा योगदान गर्न इच्छुक रहेको आफूले पाएको जनाए ।
उनले बेलायतमा बस्ने सबै नेपाली नेपालका मानार्थ राजदूत हुन् भन्दै आफूसंग रहेको ज्ञान, सीप र पहुँच राज्यको हितमा सदुपयोग गर्न आग्रह पनि गरे।
नेता कोइराला एक साता लामो भ्रमणमा बिहीबार राती बेलायत आइपुगेका हुन्।
कोइरालालाई शुक्रबार नागरिक समाज बेलायतले लन्डनमा नागरिक अभिनन्दन समेत गरेको छ ।
उनले आइतबार जनसम्पर्क समिति बेलायत तथा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेद्वारा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्नेछन्।
त्यसैगरि सोमबार (१३ जनवरी) बेलुका बेलायती संसद्को एक कक्षमा आयोजना गर्न लागिएको बैठकमा कोइरालाले भाग लिनेछन् ।
बेलायतका उद्योग व्यापार सहायक मन्त्री ग्यारेथ थोमस तथा परराष्ट्र सहायक मन्त्री क्याथरिन वेष्टद्वारा आयोजित उक्त बैठकमा बेलायतस्थित नेपाली समुदायका अगुवाहरुलाई पनि आमन्त्रण गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५