बेलायतमा फ्लूका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त


लन्डन । बेलायतमा बढ्दो चिसोका कारण फ्लू संक्रमित बिरामीको संख्या अत्यधिक बढेको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले केही दिन यता ‘एक्सिडेन्ट एण्ड इमर्जेन्सी’ डिपार्टमेन्टमा आउने बिरामीको संख्या कोभिड महामारीकै बेला जस्तो अस्तव्यस्त भएको बताएको छ ।
फ्लूका केसहरु बढेका कारण एनएचएसमा अत्यधिक दवाब परेको इंग्ल्याण्डका मेडिकल निर्देशक प्रोफेसर स्टेफन पोविसले बीबीसीलाई बताए । स्वास्थ्य क्षेत्रमा काम गर्ने कतिपय कर्मचारीहरुले कोभिड महामारीमा बिताएका कस्टकर पल स्मरण गरेका छन् ।
पछिल्लो केही दिनयता फ्लूका बिरामीको संख्या निरन्तर बढिरहेको छ । गत हप्ता एक दिनमा मात्रै औसत ५ हजार चार सय फ्लूका केस थिए जुन संख्या अघिल्लो हप्ताको तुलनामा एक हजार बढी हो ।
इंग्ल्याण्डका करिब २० वटा एनएचएस ट्रष्टहरुले यो हप्ता क्रिटिकल अवस्थाको घोषणा गरेका छन् । ‘एक्सिडेन्ट एण्ड इमर्जेन्सी’ विभागमा सेवा निकै ढिलाई भइरहेको उनीहरुको भनाइ छ ।
यसैगरी वेल्स एम्बुलेन्स सेवाले पनि क्रिटिकल अवस्था घोषणा गरेको छ ।
यसै हप्ताको सुरुमा रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनले स्कटल्याण्डका अस्पतालहरु पनि भरिभराउ हुँदा अस्तव्यस्त भएको जनाएको थियो ।
लन्डन वाटफोर्ड जनरल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. मोहन थापाले आफ्नो अस्पतालले ‘विन्टर प्रेसर’ खेपिरहेको बताउंदै फ्लू बिरामीहरूलाई व्यवस्थापन गर्न विभिन्न उपाय अवलम्बन गरिएको जनाए ।
उनले फ्लू बिरामीहरूमा एन्टिभाइरल औषधिको उपयुक्त प्रयोग र संदिग्ध फ्लू / भाइरल बिरामीहरूलाई आपतकालीन विभागमा ‘पोइन्ट अफ केयर टेस्ट’ दिइने बताए ।
‘हामीले संक्रमण रोकथाम र नियन्त्रणका उपायहरू राम्रोसँग लागू र पालना गरिरहेका छौं’- थापाले भने- ‘सबै एनएचस कर्मचारीहरूलाई फ्लू खोप लिन प्रोत्साहित गर्दै उपयुक्त पिपिइ (व्यक्तिगत सुरक्षा उपकरण) प्रयोग गर्न भनेका छौं ।’
गत वर्षको तुलनामा फ्लूका बिरामीको संख्या यो वर्ष झन्डै तीन गुणाले वृद्धि भएको छ जुन धेरै वर्षयताकै अत्यधिक हो।
यूके हेल्थ सेक्युरिटी एजेन्सीको तथ्याङ्कले फ्लूको स्तर र अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या गत वर्षको तुलनामा यसपटक बढी रहेको देखाएको छ ।
भर्खर सार्वजनिक तथ्याङ्क अनुसार, इन्फ्लुएन्जाका लागि साप्ताहिक अस्पताल भर्ना दर २९ डिसेम्बर २०२४ को हप्तामा प्रति एक लाख जनसंख्यामा १४. ९ प्रतिशत बढेको थियो। त्यसको अघिल्लो हप्ता प्रति एक लाखमा १०.६९ र त्यसअघि ८. ७२ थियो ।
फ्लूका कारण आपतकालिन विभाग (एक्सिडेन्ट एण्ड इमर्जेन्सी) र एम्बुलेन्सका लागि लामो प्रतीक्षा गर्नुपरेको छ ।
बिहीबारमात्र प्रकाशित एक तथ्यांक अनुसार, गत डिसेम्बर महिनामा ‘क्याटगरी १’ भनिने हृदयाघात जस्ता ज्यानै जान सक्ने जोखिम भएका बिरामीहरुको घरसम्म पुग्न एम्बुलेन्सहरुलाई औसत ८ मिनट ४० सेकेन्ड लागेको थियो। सरकारले उक्त समय घटाएर ७ मिनट बनाउन चाहेको छ।
‘क्याटगरी २’ मा पर्ने मुटुमा रक्तप्रवाह अवरुद्ध भएको वा मस्तिष्कघात भएको अवस्थामा एम्बुलेन्स बिरामीको घरसम्म पुग्न ४७ मिनट २६ सेकेन्ड लाग्ने गरेको छ जबकि लक्ष्यचाहिं यसलाई १८ मिनटमा झार्ने छ।
यद्यपि विभिन्न उपचारका लागि अस्पतालहरुको प्रतीक्षा सूचीमा रहेका बिरामीहरुको संख्या गत वर्ष २०२४ नोभेम्वर अन्त्यसम्ममा ७४ लाख ८० हजारमा झरेको बताइएको छ।
१४ महिना पहिले (सेप्टेम्बर २०२३ मा) झन्डै ७७ लाख ७० हजार बिरामीहरु उक्त सूचीमा थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५