तिब्बतको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या १२६
बेइजिङ । चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । हजारौँ भवन क्षतिग्रस्त भएको राज्य नियन्त्रित मिडियाले जनाएको छ । यसका कारण नेपालको राजधानी काठमाडौं र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।
चीनको सरकारी प्रसारणकर्ता सीसीटीभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ ।
फुटेजमा देखाइएअनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्रीभन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।
भूकम्प नेपालसँगको सीमानजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।
“यहाँ घरहरू माटोबाट बनेका छन् त्यसैले जब भूकम्प आयो, धेरै घरहरू ढले,” ३४ वर्षीय साङ्जी डाङ्झीले भने ।
उनको तिङरीको सुपरमार्केटमा ठूलो क्षति भयो । उनले स्थिति ‘धेरै गम्भीर’ भएको बताए । एम्बुलेन्सहरूले दिनभरि मानिसहरूलाई अस्पताल पुर्याइरहेका थिए ।
सीसीटीभीले प्रकाशित गरेको निगरानी तस्बिरहरूमा मानिसहरूलाई पसलको गल्लीहरू मार्फत भागिरहेको देखाइएको छ भने र्याकहरु जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।
सीसीटीभीका अनुसार स्थानीय समयानुसार साँझ ७ बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।
गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीन हजार ६०९ घर भत्किएका छन् ।
चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सीइएनसी)ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने यूएस जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युड मापन गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५