ब्रिक्स समूहमा थपियो इन्डोनेसिया
ब्राजिल, पुस २३ गते । ब्राजिलले इन्डोनेसिया ब्रिक्स समूहको पूर्ण सदस्य भएको घोषणा गरेको छ ।
सन् २०२५ मा ब्रिक्सको अध्यक्षता गर्ने ब्राजिलले सन् २०२३ मा जोहानेसबर्ग शिखर सम्मेलनमा इन्डोनेसियाको उम्मेदवारीलाई नेताहरूले समर्थन गरेको बताएको छ ।
ब्राजिलको विदेश मन्त्रालयले ब्रिक्समा इन्डोनेसियाको प्रवेशलाई स्वागत गरेको छ । यसले इन्डोनेसिया र अन्य ब्रिक्स सदस्यहरूले विश्वव्यापी शासन संस्थाहरूको सुधारलाई समर्थन गर्ने बताएको छ ।
“ब्राजिल सरकारले इन्डोनेसियालाई ब्रिक्समा प्रवेश गरेकोमा स्वागत गर्दछ । सबैभन्दा ठुलो अर्थतन्त्र र दक्षिणपूर्व एशियामा सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रको रूपमा इन्डोनेसियाले अन्य ब्रिक्स सदस्यहरूसँग विश्वव्यापी शासन संस्थाहरूको सुधारका लागि महत्त्वपूर्ण योगदान गर्दछ,”ब्राजिलको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
इन्डोनेसियाले नयाँ सरकारको स्थापनापछि मात्र ब्रिक्समा सामेल हुने आफ्नो रुचिबारे समूहलाई औपचारिक रूपमा जानकारी गरायो । ब्रिक्स देशहरूले सन् २०२४ मा इन्डोनेसियाको सदस्यतालाई सर्वसम्मतिले अनुमोदन गरेको विज्ञप्तिमा भनिएको छ ।
ब्रिक्स औपचारिक समूहको रूपमा सन् २००६ मा जि–८ आउटरिच शिखर सम्मेलनको बैठक पछि सुरु भयो । सन् २००६ मा न्यूयोर्कमा विदेश मन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।
पहिलो ब्रिक्स शिखर सम्मेलन सन् २००९ मा रूसको येकातेरिनबर्गमा भएको थियो । सन् २०१० मा न्यूयोर्कमा भएको ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरी ब्रिकलाई ब्रिक्समा विस्तार गर्ने सहमति भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५