आइतबार, फागुन ११, २०८१
10:34 | १६:१९

नेपालमा निशुल्क आँखा शिविर गर्दै डा गुरुङ, सयौंले फिर्ता पाउनेछन् गुमेको ज्योति

शिविर चलाउन बेलायतमा ‘फन्ड रेइजिङ डिनर’

नेपाली लिङ्क जनवरी ७, २०२५


लन्डन- बेलायतवासी युवा सामाजिक अभियन्ता डा विशाल गुरुङले नेपालमा निशुल्क आँखा शिविरको दोस्रो संस्करण सञ्चालन गर्ने भएका छन्।

सन् २०२३ मा स्याङजाको पुतलीबजारमा आँखा शिविर चलाएर ४ हजार बढी स्थानीयलाई निशुल्क सेवा दिएका उनले यस वर्ष पर्वत र सर्लाहीमा शिविरको तयारी गरेका छन्।

डा गुरुङद्वारा स्थापित रेज अफ होप फाउन्डेसनले आगामी फेब्रुअरी १० देखि १३ तारिखसम्म चार दिन पर्वत तथा फेब्रुअरी १८ देखि २० तारिखसम्म तीन दिन सर्लाहीमा शिविर सञ्चालन गर्नेछ ।

पर्वतमा चार दिनमध्ये पहिलो एक दिन चारभञ्ज्याङ तथा त्यसपछिका तीन दिन सदरमुकाम कुस्मामा शिविर रहनेछ।

नेपाल नेत्रज्योति संघसंगको सहकार्यमा डा गुरुङले आँखा शिविर सञ्चालन गर्न लागेका हुन्। पर्वतको शिविरमा हिमालयन आँखा अस्पताल तथा सर्लाहीको शिविरमा भरतपुर आँखा अस्पतालबाट स्वास्थ्यकर्मीहरु खटिनेछन्।

डा गुरुङका अनुसार गत वर्षको शिविरमा ४ हजार ४ सय ७० जनाको आँखा जाँच गरिएको थियो भने ९४ जनाको मोतीबिन्दुको शल्यक्रिया गराइएको थियो । यस वर्ष पनि हजारौंको आँखा जाँच गरी पर्वतमा १ सय र सर्लाहीमा २ सय गरी तीन सय जनाको मोतीबिन्दुको शल्यक्रिया गराउने योजना छ।

यसैबीच, शिविरका लागि कोष संकलन गर्ने उद्धेश्यले यही जनवरी १७ तारिख शुक्रबार बेलुका अल्डरसटको एम्पायर ब्यांकेटिङमा ‘फन्ड रेइजिङ डिनर’ आयोजना गरिंदैछ।

डिनरमा सहभागिता तथा शिविरमा सहयोगका लागि बेलायतवासी सबै नेपालीसंग सहयोग आव्हान गर्दै डा गुरुङले भनेका छन् , ‘नेपालका विपन्न समुदायहरुसम्म पुगेर उनीहरुको गुमेको आँखाको ज्योति फर्काउने कोशिस गर्दैछौं । हाम्रो सफलता तपाईहरुको उदारता र प्रदान सहयोगमा निर्भर रहनेछ।’

केही वर्षदेखि बेलायतमै कार्यरत डा गुरुङ सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन् । यहाँको सबैभन्दा ठूलो नेपाली संस्था तमुधिं यूकेका वर्तमान महासचिव उनी कञ्जरभेटिभ पार्टीमा आबद्ध रहेर बेलायतको स्थानीय राजनीतिमा समेत क्रियाशिल रहंदै आएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू