बुधबार, पुष २४, २०८१
03:42 | ०९:२७

शेख हसिनालाई दोस्रो पटक पक्राउ पूर्जी

रासस/एएफपी जनवरी ६, २०२५

ढाका, २२ पुस गते । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पूर्जी जारी गरेको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्रराष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।

उनको १५ वर्षे कार्यकालमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू भएको र व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको छ ।

घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) का मुख्य अभियोजक ताजुल इस्लामले दोस्रो पक्राउ पूर्जी उनको शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको बताए ।

बङ्गलादेशी सुरक्षाकर्मीले ५०० भन्दा बढी व्यक्तिलाई गैरकानूनी रूपमा नियन्त्रणमा लिएका थिए भने तीमध्ये केहीलाई वर्षौंदेखि गोप्य स्थानमा राखिएको थियो ।

पूर्व प्रधानमन्त्री हसिनाले सत्ता छोडेसँगै पीडितहरूले भोगेका कष्टदायी घटनाहरू सार्वजनिक गर्न थालेका छन् ।

“अदालतले शेख हसिना र उहाँका सैन्य सल्लाहकार, सैनिक कर्मचारी र अन्य कानून प्रवर्तन अधिकारीहरूसहित ११ जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको छ,” इस्लामले पत्रकार सम्मेलनमा भने ।

बङ्गलादेशले गत डिसेम्बरमा भारतलाई हसिनालाई मुद्दाको सामना गर्न फिर्ता पठाउन आग्रह गरेको थियो तर दिल्लीले त्यसको जवाफ दिन अस्वीकार गरेको थियो ।

इस्लामले अदालतले मुद्दाको सुनुवाइ अघि बढाउन चाहेको बताएका छन् ।

“हामी जतिसक्दो चाँडो मुद्दाको सुनुवाइ टुङ्ग्याउन चाहन्छौं, तर यसको अर्थ यो होइन कि हामी कानून भङ्ग गर्छौं वा उचित प्रक्रिया बिना नै फैसला दिन्छौं,” उनले भने ।

हसिनाको सरकार ढलेपछि उनका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको छ । उनीहरूलाई प्रहरी नियन्त्रण र कारबाहीमा संलग्न रहेको आरोप लगाइएको छ । उक्त कारबाहीमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू