बुधबार, पुष २४, २०८१
03:05 | ०८:५०

तमु समाज यूकेले लन्डनमा मनायो तमु सप्री ल्होछार-ल्होसार

नेपाली लिङ्क जनवरी ६, २०२५

लन्डन । तमु समाज यूकेले तमु तथा नेपालीहरुको महान सांस्कृतिक पर्व सप्री ल्होछार-ल्होसार मनाएको छ । गत ४ जनवरी शनिबार लन्डन ह्यारोस्थित ह्यारो लेजर सेन्टर बाइरोन हलमा भब्य रुपमा ल्होछार पर्व मनाइएको हो ।

लन्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमेद बटको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वृहत कार्यक्रम उद्घाटन प्रमुख अतिथी, समाजकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी गरेका थिए । समुद्घाटन कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

समाजकी अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न सप्री ल्होछार औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव सुव घलेले गरेका थिए भने निवर्तमान महासचिव धरमबल गुरुङले सहयोग गरेका थिए। आरम्भमा उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक केदारबहादुर गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ सम्बन्धी जानकारी दिएपस्चात स्वागत मन्तब्य राख्दै तमु ल्होछार सेलेब्रेसन र संस्थाबारे संक्षिप्त जानकारी दिए ।

अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले कार्यक्रममा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सबै संघसंस्थाका महानुभवहरु, समाजका पदाधिकारी एवं सदस्यहरुलाई धन्यवाद दिइन् । उनले सम्मानित सबै व्यक्तित्वहरुमा बधाई समेत दिइन् ।

मन्तब्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि ब्रेन्ट काउन्सिल लिडर बटले समाजको विशाल ल्होछार कार्यक्रममा सहभागी हुन पाउंदा अत्यन्त खुशी लागेको बताउंदै तमु समाज यूकेले संस्थागत रुपमा ब्रेन्ट काउन्सिलमा धेरै सहयोग गरेको छ र समाजलाई पनि काउन्सिलबाट आवश्यक सहयोग दिइएको बताए । उनले भविष्यमा पनि समाजलाई आवश्यक सहयोग दिने प्रतिवद्धता ब्यक्त गर्दै ल्होछार र अंग्रेजी नयाँ वर्षको शुभकामना दिए । प्रमुख अतिथि बटले कार्यक्रममा कलाकारहरुले गरेको उत्कृष्ट नृत्यको समेत प्रशंसा गरे ।

विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

विगत जस्तै यस वर्षको सप्री ल्होछार कार्यक्रमका अवसरमा पनि समाजका नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज वितरण गरि संस्थामा औपचारिक स्वागत गरिएको थियो।

यस अलवा शैक्षिक सत्र २०२४ मा स्नातक तथा स्नात्तकोत्तर तहमा सफलता प्राप्त विद्यार्थीहरु तथा विगत वर्षहरुमा सामाजिक जीवनको विभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सामाजिक सेवा र संस्थाको विकासमा उल्लेख्य योगदान पुरयाउने विभिन्न महानुभावहरुलाई तमु समाज यूके विशिष्ठ समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड –२०२५), तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२५ तथा प्रशंसा पत्रहरु प्रदान गरिएको थियो ।

प्रमुख अतिथी काउन्सिल लिडर बट, समाजकी अध्यक्ष घले, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष विमला गुरुङले सम्मान तथा प्रशंसापत्र वितरण गरे ।

यस ल्होछारमा समाजको स्थापनाकालदेखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदमा रहेर सामाजिक जीवनको विभिन्न क्षेत्रमा तमु समाज यूकेको संरक्षण, संवर्धन र विकास गर्न अहोरात्र खटिई अतुलनीय योगदान गरेका सामाजिक अभियन्ताहरु तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ र पूर्व उपाध्यक्ष तथा सल्लाहकार कन्या प्रसाद गुरुङलाई तमु समाज यूके विशिष्ठ समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड २०२५) बाट सम्मान गरियो । सम्मानित ब्यक्तित्व र उनीहरुका धर्मपत्नीलाई कार्यक्रमका प्रमुख अतिथि, समाजका अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षले विशिष्ट सम्मान पत्र प्रदानसहित फेटा, खादा, दोसल्ला ओढाएर पुष्प गुच्छासहित सम्मान गरे ।

सम्मान कार्यक्रममा निर्वतमान अध्यक्ष शिव कुमार गुरुङले धन्यवाद तथा शुभकामना दिए । मन्तव्यका क्रममा उनले तमु समाज यूकेको स्थापनाकालदेखि समाजमा निष्ठापूर्वक विभिन्न महत्वपूर्ण पदमा रहि समाज सेवाको कार्यमा अतुलनीय योगदान गरेको मूल्याङकन गरि समाजले आफूलाई सम्मानित गरेकामा कृतज्ञता ब्यक्त गरे । उनले यस सम्मानले आफूलाई आगामी दिनमा पनि निरन्तररुपमा सामाजिक सेवामा लागिरहन उर्जा तथा उत्प्रेरणा प्राप्त भएको बताए ।

तमु समाज यूकेले सामाजिक जीवनको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान पत्रबाट सम्मान गरेको छ । यस वर्ष उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२५ बाट सल्लाहकार लेख गुरुङ, सल्लाहकार कमल बहादुर गुरुङ, सल्लाहकार नारायण सिंह गुरुङ, आमा समूहको कार्यसमिति सदस्य श्रीमती लक्ष्मी गुरुङ र युव समूहका निर्वतमान अध्यक्ष ओमकार गुरुङलाई सम्मान गरिएको थियो ।

त्यसैगरि, तमुधिं यूकेको निमन्त्रणामा उक्त संस्थाको रजत जयन्ती उत्सव कार्यक्रमका लागि बेलायत आएका तमुधिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सप्री ल्होछार उत्सव कार्यक्रममा तमु समाज यूकेको निमन्त्रणामा बेलायत आएका तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ र मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी संस्थापक तथा प्रवन्ध निर्देशक सुश्री माया (दोर्जे डोल्मा) गुरुङलाई यूकेमा स्वागत गर्दै नेपालमा उनीहरुले नेपाली समुदायलाई पुरयाएको अतुलनीय योगदानको कदरसहित तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान पत्र २०२५ बाट सम्मानित गरियो ।

सम्मान कार्यक्रमको अवसरमा तमुधिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले शुभकामना मन्तब्य दिंदै समाजले प्रदान गरेको सम्मान सधैं शिरोपर गरेर यसले सकारात्मक भावनाका साथ तमुहरुको हितका निम्ति, समाजको हित र सबै नेपालीको हितका निम्ति काम गर्ने प्रेरणा मिलेको बताए ।

तमु समाज यूकेले आमन्त्रण गरिदिएकामा आभार ब्यक्त गर्दै उनले तमुहरु जहाँ रहेपनि एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

यसै गरि तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङले तमु समाज यूकेले आफूलाई यूकेमा निमन्त्रणा गरेकामा धन्यवादसहित आभार ब्यक्त गरे । उनले आफूले नेपालबाट ल्याएको मायाको चिनो तमु समाज यूके अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलाई प्रदान गरे । उनले पनि शुभकामना तथा धन्यवाद मन्तब्यमा तमु एकतामा जोड दिनुपर्ने र भावी सन्ततिलाई स्वदेश वा विदेशमा रहेपनि आफ्नो धर्म संस्कार, संस्कृति, परम्परा र तमु भाषा जोगाई राख्न सबैले मद्दत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तमु समाज यूकेलाई विशेष सहयोग 
गर्दै आएका ब्रेन्ट काउन्सिल किङ्सवरी वडाका काउन्सिलर सकिब बटलाई सामाजकी अध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट खादा लगाई मायाको चिनो कोथिमारा खुकुरी प्रदान गरियो । तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष जुम काजी गुरुङ, तमुधिं यूके आमा समूहकी अध्यक्ष श्रीमती कमला गुरुङ, पत्रकार महासंघ यूके अध्यक्ष श्रीमती विमला सेने र तमु समाज यूकेका आजीवन सदस्य बुद्धि राज घले ब्रिटिश आर्मी वारेन्ट अफिसर क्लास टुबाट क्याप्टेन पदमा पदोन्नति भएकोमा उनी र उनको धर्मपत्नी श्रीमती डिना गुरुङ घलेलाई समाजको तर्फबाट खादा, फेटा, दोसल्ला ओढाई पुष्प गुच्छाबाट बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइएको थियो ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले तमु समाज यूकेले आफूहरुलाई सम्मान गरेकामा धन्यवाद दिंदै तमुधिं यूके र तमु समाज यूकेको सम्बन्ध प्रगाढ हुँदै गएको बताए । उनले पनि सधैं तमु एकता हुनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा तमु समाज यूकेको सामुदायिक भवन खरिद परियोजनामा आर्थिक सहयोग प्रदान गर्ने दाताहरु तमु समाज यूकेका सल्लाहकारहरु ले. रि. पन्च बहादुर गुरुङ तथा श्रीमती रेणु माया गुरुङ, तमु प्ये ल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम त्होर्जे तमु र तमु प्ये ल्हु संघ यूके आमा समूहकी अध्यक्ष श्रीमती बबिता गुरुङ, तमु समाज यूकेका आजीवन सदस्य जमान सिङ गुरुङ र श्रीमती विजय गुरुङलाई समाजका तर्फबाट फेटा, खादा, दोसल्ला अढाई ताम्रपत्रमा लिखित कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

नेपालबाट आएका कलाकारले नचाए

सांस्कृतिक तथा मनोरन्जन सत्रमा पूर्व सांस्कृतिक सचिव तथा तमु चलचित्रकी नायिका सरु गुरुङ रानाको करियोग्राफीमा तमु समाज यूके आमा समूह, युवा समूह तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेको सौजन्यमा स्थानीय युवा कलाकारहरु र नेपालबाट आएका डान्सर तथा कोरियोग्राफर शेखर घर्तीमगरले नृत्यहरु प्रस्तुत गरे । साँस्कृतिक कार्यक्रममा अर्को आकर्षण नेपालबाट आएका लोक गायिकाहरु विमला गुरुङ, शितल गुरुङ र हरिमाया गुरुङको जोडदार गायनमा उपस्थित सबैले नाचेर साथ दिएका थिए । नेपालबाट आएका लोक दोहोरी गायिकाहरु ल्याउन गोर्खा जिल्ला गुरुङ समाज यूकेले सौजन्य गरेको थियो ।

तमु समाज यूकेका पूर्व सांस्कृतिक सचिव सरु गुरुङ रानाको कोरियोग्राफी र आमा समूहकी अध्यक्ष विमला गुरुङको ब्यवस्थापनमा प्रस्तुत नृत्य तथा सांस्कृतिक कार्यक्रम सञ्चालन निरज गुरुङ र सुश्री मिस्टी गुरुङले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जित रानभाट, मेयरेस श्रीमती गौमाया गुरुङ रानाभाट, पूर्व मेयर तथा काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर कमलबहादुर गुरुङ, काउन्सिलर सकिब बट, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष हित काजी गुरुङ, तमुधिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरङ गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. रि. डेम बहादुर गुरुङ, गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष श्रीमती नम्रता घले, पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, तमु (गुरुङ) सञ्ञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ र गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन गुरुङसहित अन्य ६० भन्दा बढी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो । वृहत सप्री ल्होछार कार्यक्रममा समाजका सदस्यहरु, परिवार र नेपाली तथा तमु समुदायको समेत उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न समाजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, युवा समूह, आमा समूहका साथै समाजका शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

ल्होछार कार्यक्रममा यसपटक युवा समूहका अध्यक्ष प्रज्ज्वल मान गुरुङ र उपाध्यक्ष प्रशान्त गुरुङको संयोजकत्वमा युवा समूहको तर्फबाट बालबालिकाहरुलाई मनोरन्जनका लागि विभिन्न प्रकारका खेल आयोजना र ल्होछार उपहारको ब्यवस्थापन गरिएको थियो । यस कारण बालबालिकाहरुले कार्यक्रममा अत्यन्तै मनोरन्जन लिए भने आभिभावकहरु पनि दंग देखिन्थे ।

सप्री ल्होछार सांस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गरेका कलाकारहरु श्रीमती सरु गुरुङ राना, श्रीमती विमला गुरुङ, श्रीमती रितु गुरुङ, श्रीमती कमला गुरुङ, सुश्री प्रजु गुरुङ, सुश्री सुजिता गुरुङ, सुश्री ओसिअन राना, सुश्री ओसिस राना, सुश्री सुमी गुरुङ, सुश्री जरिना गुरुङ, सुश्री सुबिना घले, अर्जुन कुमार गुरुङ, डेविड गुरुङ र गोर्खा जिल्ला गुरुङ समाज यूकेका युवा कलाकारहरु दिवस गुरुङ, अरुप क्षेत्री, सुश्री अभिसा गुरुङ, सुश्री सुसान गुरुङ र नेपालबाट आएका अतिथि कलाकारहरु शेखर घर्तीमगर, शितल गुरुङ, सुश्री विमला गुरुङ र सूश्री हरिमाया गुरुङलाई धन्यवाद ब्यक्त गर्दै खादा र कदरपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा ओमकार गुरुङ, टेक बहादुर गुरुङ र गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुले फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिसन गुरुङ र साउण्ड सिस्टम ब्यवस्थापन विशाल मोक्तान र प्रज्वल गुरुङले गरेका थिए।

यसैगरि कार्यक्रममा खाना ब्यवस्थापन रारा केटर्सका प्रोपाइटर प्रताप रायमाझी र पेय पदार्थ विक्री वितरण तमु समाज यूके युवा समूहले गरेका थिए ।

दिउसो ४ः३० बजे आरम्भ भएको सप्री ल्होछार कार्यक्रमको अन्तमा सबैले प्रज्ज्वल मान गुरुङ र विशाल मोक्तानको डिजेमा मध्यरातसम्म नाचेर भरपुर मनोरन्जन लिए ।

-शिवकुमार गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू