सोमबार, पुष २२, २०८१
10:35 | १६:२०

बेलायतमा यो वीकेन्ड भारी वर्षा र हिमपातको चेतावनी

नेपाली लिङ्क जनवरी ४, २०२५

लन्डन । संयुक्त अधिराज्य बेलायतले यो वीकेन्ड हिमपात र भारी वर्षाको सामना गर्नुपर्ने चेतावनी मौसमविदहरुले दिएका छन् ।

इङ्गल्याण्डका ४० काउन्टीहरू प्रभावित हुन सक्ने मेट डेक्स डेटाले देखाएको छ । प्रतिकुल मौसमका कारण हवाइ उडान, सडक र रेल सेवा समेत प्रभावित हुने बताइएको छ । चिसो मौसमका कारण यस साताको अन्त्यमा केही फुटबल खेल समेत रद्द भएका छन् ।

बेलायतले दुईवटा एम्बर चेतावनीबीच यस सप्ताहन्त भारी हिउँ र वर्षाका लागि तयारी गरिरहेको छ । बेलायतमा शनिबार रातीदेखि आइतबारसम्म ठूलो हिम आँधी आउने अनुमान छ ।

बेलायतमा ३० सेन्टिमिटरसम्म हिउँ पर्ने अपेक्षा गरिएको छ भने केही ग्रामीण क्षेत्रहरूमा माइनस ९ डिग्री सेन्टिग्रेड तापक्रम पुग्ने अनुमान गरिएको छ ।

पछिल्लो मौसम पूर्वानुमानका अनुसार हिमपात दक्षिणबाट सुरु भएर उत्तरतर्फ सर्नेछ। पूर्वी इङ्गल्याण्ड र कर्नवालमा आँधी र वेल्स एवं स्कटल्याण्डको केही भागमा १४ सेन्टिमिटर हिउँ पर्ने पूर्वानुमान गरिएको छ।

वेल्स र दक्षिणी इङ्गल्याण्डका साउथह्याम्प्टनदेखि बर्मिङ्घमसम्म र लन्डनलगायतका क्षेत्रमा शनिबार राति ९ बजेदेखि हिमपात सुरु हुने अपेक्षा गरिएको छ। मिडल्याण्ड्सले सुरुमा १ सेन्टिमिटरको हल्का हिमपात सामना गरेपनि आइतबार बिहानसम्म बर्मिङ्घम ५ सेन्टिमिटरसम्म हिउँले ढाक्न सक्ने जनाइएको छ ।

मेट अफिसले वेल्स् एवं मध्य इङ्गल्याण्डका अधिकांश भागहरु मिडल्याण्ड्स, उत्तर–पश्चिमी शहर लिभरपुल, म्यानचेस्टर लगायतमा हिउँ र अत्यधिक चिसो वर्षाका लागि शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसोसम्म एम्बर चेतावनी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू