लन्डन उत्रियो कन्दरा, ओटुमा कन्सर्ट गर्नु मेरो सपना- विवेक श्रेष्ठ
लन्डन– ४ जनवरी शनिबार लन्डनको प्रतिष्ठित ओटुमा हुने कन्सर्टका लागि गायक विवेक श्रेष्ठसहित कन्दरा ब्याण्डका ७ सदस्यहरु लन्डन उत्रिएका छन् ।
सोही कन्सर्टमा परफर्म गर्न लोकप्रिय गायक स्वप्न सुमन र उनको ब्यान्ड ‘आस्टर्स’ लन्डन आएकै दिन बिहीबार बेलुका कन्दरा टिम यूके उत्रिएको हो ।
‘इन्डिगो एट ओटु’ मा हुन लागेको ‘कन्दरा लाइभ इन यूके’ का लागि आफूहरु उत्साहित भएको गायक श्रेष्ठले बताए ।
‘विश्व प्रतिष्ठित ओटुमा परफर्म गर्नु मेरो सपना नै थियो, अहिले त्यो सपना साकार हुन लाग्दा निकै खुशी छु’- गायक श्रेष्ठले हिथ्रो विमानस्थलमा भने, ‘मामाघर इन्टरटेन्मेन्टले यो माहोल मिलाएकामा उहांहरुप्रति हामी कृतज्ञ छौं । वास्तवमा यो कन्दराका लागि मात्र नभएर अन्य नेपाली गीत संगीत र व्याण्डकै लागि ऐतिहासिक हुनेछ ।’
घरदेशपछि परदेश यात्राको पहिलो शो लन्डन ओटुमा हुनु आफ्ना लागि कोशेढुंगा भएको पनि गायक श्रेष्ठले बताए ।
यसअघि लन्डनमा आफ्नो एकल गीत प्रस्तुत भएपनि व्याण्डसहितको यो पहिलो प्रस्तुति अविष्मरणीय हुने विश्वास उनको छ ।
मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले सबै कलाकार आइसकेकाले आफूहरु थप उत्साहित भएको बताए । लामो समयदेखिको तयारी अब अन्तिम घडीमा आइपुगेको छ । हामी केही टिकटमात्र बांकी रहेकाले इच्छुक संगीतप्रेमी दर्शकहरुलाई कन्सर्ट हेर्न आउन निमन्त्रणा गर्छौं, उनले भने ।
आयोजक टिमकी सदस्य कान्ति गुरुङ श्रेष्ठले पनि आमदर्शकहरुलाई कन्सर्टमा आएर कन्दराको गायनको मज्जा लिन अनुरोध गरेकी छन् ।
४ जनवरी सांझ ‘कन्दरा लाइभ इन यूके’ मा स्वप्न सुमन र ब्यान्डको ओपनिङ प्रस्तुति रहनेछ । साँझ ठीक ७ बजे शुरु हुने कन्सर्टमा स्वप्न एन्ड ब्यान्डले पहिलो एक घण्टा प्रस्तुति गर्नेछन् भने त्यसपछिका लगातार दुई घण्टा कन्दरा ब्यान्डको प्रस्तुति रहनेछ । सोही अवसरमा कन्दरा ब्यान्डको ३२ औं वार्षिकोत्सव पनि मनाइंदैछ ।
उक्त कन्सर्टपछि राती ११ देखि बिहान ५ बजेसम्म ‘भान्जाभान्जी आफ्टर पार्टी’ को तयारी समेत भइरहेको छ ।
ओटुबाट १० मिनेट दुरीमा अवस्थित तीन हजार दर्शक क्षमताको ‘स्टुडियो ३३८’ मा डिजे बिक्की, डिजे एस काजी र डिजे नेपसोलको गीत संगीतमा उक्त पार्टी हुन लागेको हो ।
तस्विर- प्रकाश कंडेल
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५