शुक्रबार, पुष १९, २०८१
23:13 | ०४:५८

एनआरएनएजस्तै संस्था यूएनडीओ अध्यक्षमा फेरि चुनिए सोनाम लामा

नेपाली लिङ्क डिसेम्बर ३०, २०२४

काठमाडौँ–युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडीओ) को अध्यक्षमा सोनाम लामा चयन भएका छन् । स्थापनाकालका अध्यक्ष लामा आइतबार सम्पन्न निर्वाचनबाट पुनः नेतृत्वमा आएका हुन् ।

नेपालीमूलका अमेरिकी लामा सर्वसम्मत चयन हुँदा उपाध्यक्षमा प्रेम गाहा मगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमा देबी लिम्बु र यम कुमार गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै महासचिवमा कुशल केसी, सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् ।

यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा शनिबारदेखि काठमाडौँमा सुरु भएको थियो । आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न सम्मेलनले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने प्रतिबद्धता जनाएको छ ।

सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरुले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरुमा आधारित रहेर विश्वव्यापी डायस्पोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरुको हितका लागि काम गर्ने जनाएका हुन् ।

सो अवसरमा वरिष्ठ समाजसेवी र सिएनएन हिरो अनुराधा कोइरालाले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको पुँजी र ज्ञान मातृभूमिको विकासमा लगाउन आग्रह गर्दै भावी सन्ततिहरुलाई पनि नेपालप्रतिको आस्था अभिवृद्धि गराउन नेपाली डायस्पोरासँग आग्रह गरिन् । 

यस्तै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले मातृभूमिको माया र दायित्वलाई आत्मसात गर्दै आफूले विभिन्न परियोजनाहरुमा लगानी र सहयोग गर्दै आएको उल्लेख गर्दै सरकारले पनि नेपाली डायस्पोरालाई लगानीमैत्री वातावरण मिलाउपर्नेमा जोड दिए ।


अध्यक्ष सोनाम लामाले नेपाल र नेपाली डायस्पोरालाई एकताबद्ध गरी मातृभूमिको दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यस संस्थामार्फत जलवायु परिवर्तन र प्रतिभा पलायन जस्ता गम्भीर समस्याहरु एवं युवा पुस्तालाई नेपालको प्रगतिमा परिचालन गर्न विभिन्न रचनात्मक कामहरु भइरहेको जानकारी दिए । 

सम्मेलनको पहिलो प्राविधिक सत्र ‘जलवायु परिवर्तन र बसाइँसराइ’ मा वरिष्ठ पत्रकार कुन्द दीक्षित, आप्रवासन विशेषज्ञ डा गणेश गुरुङ, इसिमोडकी डा अमिना महर्जन र वन तथा वातावरण मन्त्रालयका नरेश शर्माले जलवायु परिवर्तन र बसाइँसराइबीचको सम्बन्ध र यसले पारेको नकारात्मक प्रभावबारे प्रकाश पारे ।

दोस्रो सत्र ‘नवीनतम् पूर्वाधार र डायस्पोरा’ मा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपाली र ऊर्जाविद् कुशल गुरुङले नेपालको पूर्वाधार तथा यातायात क्षेत्रमा डायस्पोराले गर्न सक्ने सहयोगका बारेमा प्रस्तुति दिएका थिए । 

यस्तै तेस्रो प्राविधिक सत्र ‘नीति र साझेदारी’ विषयमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतेन्द्र उपाध्याय र नीति अनुसन्धान प्रतिष्ठानकी डा इन्द्र अधिकारीले विद्यमान नीतिमा रहेका कमीकमजोरीका कारण डायस्पोरासँगको साझेदारीमा देखिएको समस्याबारे धारणा राखेका थिए ।


सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा नेपालको यातायात क्षेत्रमा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यका साथ एमआइटी ग्रुप फाउण्डेशन र नेपाल सरकारबीच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ कार्यक्रम भएको हो । सम्मेलनले वंशजको नेपाली नागरिकता निरन्तरता अभियान अझ सशक्त रुपमा लैजान उपाध्यक्ष प्रेम गाहामगरको संयोजकत्वमा एक समिति गठन गरेको छ ।    

एनआरएनएमा विवाद भएपछि सर्वोच्च अदालतको फैसलाअनुसार यूएनडीओ गठन भएको थियो जुन एनआरएनएजस्तै परराष्ट्र मन्त्रालयमा दर्ता छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू