टिकटक प्रतिबन्ध लगाउने कानून अघि नबढाउन ट्रम्पले गरे अदालतसमक्ष आग्रह
वासिङ्टन, पुस १३ गते । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले विक्री नगरे प्रतिबन्ध लगाउने कानून रोक्न सर्वोच्च अदालतसमक्ष आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् ।
ट्रम्पको कानूनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै अदालतले यी मुद्दाहरु सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ ।”
ट्रम्पले सन् २०१७-०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए ।
चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो । अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडियो शेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए ।
ट्रम्पले विक्री मूल्यमा सरकारको साझेदारीका साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गरेका छन् । समयक्रमसँगै ट्रम्पको टिकटकप्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढेका छन् । उनले ट्रम्पले लगाएका समान कारणहरू देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् तर, अहिले ट्रम्पले आफ्नो बाटो परिवर्तन गरेका छन् ।
ब्लुमबर्गसँगको कुराकानीमा उनले भनेका छन्, “अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ । म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ । यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन ।”
मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो । फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसदमा ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध ट्रम्पले थप हिंसा बढावा दिनका लागि प्लेटफर्मको उपयोग गर्ने चिन्ता को कारण प्रेरित रहेको दाबी मेटाको थियो । ट्रम्पमाथि सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५