आइतबार, पुष १४, २०८१
22:46 | ०४:३१

७ प्रदेशमा ७ दिनमा ७ वटा फूल म्याराथन गर्ने नेपाल रन यूकेको तयारी

नेपाली लिङ्क डिसेम्बर २८, २०२४

लन्डन । लन्डनमा वर्षेनी नर्थल्ट टेन के रन गर्दै आएको नेपाल रन यूकेले एउटा महत्वाकांक्षी योजना अघि सारेको छ ।

बेलायतको नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित उक्त संस्थाले ७७७ नेपाल म्याराथन च्यालेन्ज गर्न लागेको हो ।

आउंदो १५ फेब्रुअरीदेखि २१ फेब्रुअरीसम्म नेपालमा पहिलोपटक ७ प्रदेशमा ७ दिनमा ७ जना धावकहरु (यूके अमेरिका) सम्मिलित ७ वटा फूल म्याराथन र संगै हाफ म्याराथनको तयारी गरिएको नेपाल रन यूकेले जनाएको छ ।

नेपाल रन यूकेका संस्थापक अध्यक्ष सन्तोष राईले आउंदो १५ फेब्रुअरीमा गण्डकी प्रदेशमा पोखरा म्याराथन, १६ फेब्रुअरीमा लुम्बिनीको बुटवलमा, १७ फेब्रुअरीमा सुदुर पश्चिमको धनगढीमा, १८ फेब्रुअरीमा कर्णालीको सुर्खेतमा, १९ फेब्रुअरीमा बाग्मतीको हेटौंडामा, २० फेब्रुअरीमा मधेश प्रदेशको जनकपुर र २१ फेब्रुअरीमा कोशीको धरानमा एकसाथ फूल र हाफ म्याराथन गर्ने तयारी भएको जानकारी दिए ।

म्याराथनमा दौड्न सातजना अन्तर्राष्ट्रियबाहेक १०-१० जना स्थानीय धावकहरु पनि संलग्न गराइने राईले बताए ।

यस अतिरिक्त २२ फेब्रुअरीमा ‘धरान टेन के रन’ समेत गर्न लागिएको छ ।

ति दौडहरुमा राजन खत्री नेतृत्वको एथलेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गरेको छ । प्रत्येक प्रदेशमा स्थानीय संघसंस्थाले समेत सहयोग गरेका छन् ।

अध्यक्ष राईले यो च्यारिटी इभेन्ट भएको जनाउंदै प्राप्त हुने सबै नाफा जुम्लामा निर्माणाधिन हाइ अल्टिच्यूड ट्रेनिङ क्याम्पका लागि दिइने बताए । उक्त क्याम्प बनाउन स्थानीय हरि रोकायाले जग्गा उपलब्ध गराइसकेकी छन् ।

नेपालको पर्यटन प्रवर्धन, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान टेन के रनको प्रचार प्रसार, नेपालमा रनिङ कल्चर नभएका बेला यसप्रति हौसला बढाउन र हरेक प्रदेशका स्थानीय जनतामा स्वास्थ्य सचेतना इभेन्टको मुख्य उद्देश्य भएको राईले बताए ।

उक्त प्रोजेक्टका लागि मेक्सवर्थ फाउण्डेशन, ओम नमो, न्यूम्यू, तेन्जिङ हिलारी एभरेष्ट म्याराथन, एलिस रेष्टुरेन्ट, सफल इन्टरनेशनल म्याराथन र धरान रनले प्रायोजन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू