फेवाताल किनारमा सडक महोत्सव
कास्की । पोखरामा शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदै छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किलोमिटर क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
भोलिदेखि आयोजना हुने २६औँ संस्करणको महोत्सवको सबै तयारी पूरा भएको महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए ।
महोत्सवलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने तय भएको छ ।
संयोजक भट्टराईका अनुसार, उद्घाटन समारोहअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न संघसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्याली निकालिने छ ।
महोत्सव सफल पार्न गठित विभिन्न समिति, उपसमितिले आ–आफ्नो तयारी पूरा गरेका जनाएका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक सम्पन्न गरेको संयोजक भट्टराईले बताए ।
‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।
“सडक महोत्सव पोखराको ‘ब्रान्ड’ बनेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा हुने महोत्सवको पर्यटन क्षेत्रलाई चलायमान गराउने विश्वास लिएका छौँ,” अध्यक्ष पौडेलले भने ।
महोत्सव थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुंगा दौडलगायत आयोजना हुनेछ ।
त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५