बिहीबार, पुष ११, २०८१
05:56 | ११:४१

लन्डन छाडेर नेपालमा धमाधम सृजनातिर शर्मिला, ल्याइन् अर्को गीत (भिडियो)

नेपाली लिङ्क डिसेम्बर २५, २०२४


लन्डन । लन्डननिवासी गायिका शर्मिला बर्देवा काम, परिवार छाडेर यतिखेर नेपालमा छन् ।

झण्डै ५ महिना अघि नेपाल गएकी उनी यो अवधिमा आफ्नो सृजनालाई गति दिइरहेकी छन् । नेपाल बसाइकै क्रममा बर्देवाले २२ वटा गीत, भजन र गजल रेकर्ड गराइन् ।

‘अझै ५-६ वटा गीत रेकर्ड गरेर जनवरी अन्त्यतिर लन्डन फर्कने सोच छ’, उनले नेपालीलिंकसंग भनिन् ।

उनको क्रिसमसका दिन बुधबारमात्र नयां गीत ‘सजाय काफी हुंदैन’ सार्वजनिक भएको छ । उक्त गीत देवेन्द्र आचार्यले रचना गरेका हुन् भने कम्पोज-एरेन्ज राजेन्द्र बजगाईंको छ । मिक्सिङ/मास्टरिङ इन्जिनियर मनोज परियार छन् । उक्त गीतको म्यूजिक भिडियो क्याच स्टुडियोले ल्याएको हो ।

नेपाली पार्श्व तथा आधुनिक गायनमा विशिष्ट स्थान बनाएकी बर्देवाले नेपाली चर्चित फिल्महरुमा पार्श्व गायन गरेकी छन् । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आंखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् ।

उनको यसअघि ‘मन सिउने धागो’ बोलको गीत बजारमा आएको थियो ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले आफ्नो गायन पेशालाई अझ बढी समय दिन नेपाल बसेको बताइन् ।

उनी बेलायतमा समेत स्टेज कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू