बिहीबार, पुष ११, २०८१
03:18 | ०९:०३

भारतीय प्रसिद्ध गायक सोनु निगम नेपाली दर्शकमाझ

रासस डिसेम्बर २५, २०२४

काठमाडौँ, पुस १० गते। भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आइपुगेका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी एयरइन्डियाको विमानमार्फत आज दिउँसो काठमाडौँ आएका हुन् ।

उनको १९ सदस्यीय साङ्गीतिक समूह ब्यान्ड मेम्बर भने आज बिहानै आएका थिए । नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन नेपाल आएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिए ।

उनले भने, “मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु। नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु।”

आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताए ।

कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शुल्क राखिएको छ । गायक निगमले स्वर दिएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत लोकप्रिय छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू