बुधबार, माघ ९, २०८१
12:59 | १८:४४

साम्बालाई बेलायती क्लवमा आवद्ध गराउन सहारा यूकेको पहल

नेपाली लिङ्क डिसेम्बर २२, २०२४


लन्डन । सहारा यूकेले हाल फ्रान्सको माथिल्लो डिभिजन क्लब अन आभान्ट ग्वेङ् गाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई बेलायती क्लवमा आवद्ध गराउन पहल गर्ने भएको छ । सहारा यूकेको शनिबार सम्पन्न वार्षिक साधारणसभामा उक्त निर्णय भएको हो । 

सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङले साम्बालाई बेलायतको फुलहाम र क्रिस्टल प्यालेसमा आवद्ध गराउन पहल गर्ने निर्णय भएको जनाए । 

साधारणसभामा जुममार्फत जोडिएकी साम्बालाई आउंदो गोर्खा कपमा अतिथीका रुपमा बोलाउने निर्णय पनि संस्थाले गरेको छ ।  

अध्यक्ष कृष्ण गुरुङको सभापतित्वमा रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्टमा भएको उक्त साधारणसभाले बगर भाई खलक, पोखरा म्याराथन र कुमार थापाको नाममा स्याङ्जामा आयोजना हुने ‘अन्डर १४ फुटबल खेल’ सहयोगार्थ ५ वर्षसम्म एक-एक लाख रुपैंया सहयोग दिने निर्णय समेत गरेको छ।  

साथै, आहा गोल्ड कप लगायत सामाजिक काममा सहारा यूके च्यारिटी फन्डमा रहेको ३० लाख रुपैंयाबाट खर्च गर्ने निर्णय भएको छ । 

तस्विर- मिलन तमु

वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्षहरु मीनप्रसाद गुरुङ ‘साइँला’, कुमार गुरुङ र कुसाङ गुरुङले आ-आफ्नो धारणा राखेका थिए ।  

कार्यवहाक महासचिव मनोज गुरुङले सन्चालन गरेको उक्त साधारणसभामा कोषाध्यक्ष कुमार थापाले आयव्यय एवं सहकोषाध्यक्ष जगन गुरुङ र अध्यक्ष कृष्ण गुरुङले सहारा यूके अक्षयकोष तथा आगामी कार्ययोजनाबारे बोलेका थिए ।

वार्षिक साधारणसभा समापनपछि संस्थाले क्रिसमस पार्टी आयोजना गर्‍यो । पार्टीमा सपनकुमार राई र डान्सर तथा मोडल स्वस्तिका खड्काले भरपुर मनोरन्जन दिलाए ।

सहसचिव मन्जु गुरुङ राई र सपनले ‘राफल ड्र’ खेलाएका थिए ।  

सो अवसरमा तमुधिं यूके पूर्व अध्यक्षहरु रामचन्द्र (सूर्जे) गुरुङ, ज्ञाम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ लगायत सहारा यूके सदस्य र परिवार गरि झन्डै ९० जना सहभागी थिए । 

‘भर्चुअल’ रुपमा सहारा यूकेका सहयोगीहरु व्यवसायी अरुण चौधरी र पहिलो महिला स्काइ डाइभर सुजिता शाही एवं खेलाडी साम्बा पनि सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू