बुधबार, माघ ९, २०८१
00:06 | ०५:५१

एनपिएल उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

नेपाली लिङ्क डिसेम्बर १९, २०२४

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ।

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो।

जनकपुर बोल्ट्सलाई बुधबार हराउंदै सुदूरपश्चिम रोयल्स यसअघि नै फाइनल पुगेको थियो।

फाइनल पुग्ने क्रममा जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए।

उनले १७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा उक्त रन जोड्दै जनकपुरलाई जितको आधार तय गरे।

यस्तै हर्ष थाकरले १७, शेर मल्लले अविजित १६, मायन यादवले १४ र आकाश त्रिपाठीले १३ रन बनाए।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। कर्णालीले ट्यालेन्ट हन्टबाट टोलीका अनुबन्ध गरेको १६ वर्षीय शर्माले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गदै १७ रन खर्चिए।

सोमपाल कामी, विलियम बसिस्टो र जिसम मक्सुदले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो।

कर्णालीका लागि गुलशन झाले २५ रन बनाए। देव खनालले २४, विलियम बसिस्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले १२/१२ तथा चादविक वाल्टनले ११ रन बनाए।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहमद मोसिन र जेम्स निसमले दुई दुई विकेट लिए। हर्ष थाकर र शेर मल्लले एक एक विकेट योगदान गरे।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। पराजित कर्णालीले तेस्रो बन्यो। प्लेअफमा पुगेको चितवन राइनोज चौथो भयो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू