बुधबार, माघ ९, २०८१
00:04 | ०५:४९

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएल फाइनलमा

नेपाली लिङ्क डिसेम्बर १८, २०२४

काठमाडौं। विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हाउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।

जितका लागि एक सय ४० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ४१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अविजित अर्धसतकीय इनिङ्स खेले । उनले ५५ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५८ रन बनाएका थिए । विनोद ‘प्लेयर अफ दि म्याच’ बने ।

यस्तै सईफ जैवले ३२ रन बनाए । ब्रान्डन म्याकमुलेनले २५ र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन योगदान गरे ।

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले एक एक विकेट लिए। फाइनलमा सुदुरपश्चिमले यही शनिबार कर्णाली याक्स र जनकपुर बोल्ट्सको विजेतासँग खेल्नेछ।

यसअघि बुधबार नै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए ।

यस्तै शुभ कंशाकरले २६, ओपनर लाहिरु मिलान्था र हर्ष थाकरले १२-१२ तथा आशिफ शेख र अरनिको यादवले ११-११ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए। सईफ जैवले दुई तथा स्कट कग्लेजिन र अविनाश बोहराले एक एक विकेट लिए ।

जारी प्रतियोगितामा लयमा देखिएको सुदूरपश्चिमले लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको थियो ।

यस्तै लिग चरणको सुरुवाती खेलमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा हासिल गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू