बुधबार, माघ ९, २०८१
13:06 | १८:५१

लन्डन ओटुमा पहिलोपटक गुन्जंदैछन् कन्दरा र स्वप्न सुमन (भिडियो)

नेपाली लिङ्क डिसेम्बर १६, २०२४

लन्डन ।

हिउँ त हैन फाफरेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र

९० को दशकमा स्थापित पोखरेली ब्याण्ड ‘कन्दरा’ को यो गीत नसुन्ने विरलै होलान् । यस्ता कयौं हिट गीत पस्केर दर्शक श्रोताको मन जित्न सफल छ कन्दरा ।

हङकङ पोखराबाहेक तिमी पारी, चञ्चले कान्छी, लेककी हे माया, तगारोमा रुमाल जस्ता चर्चित लोक पपगीतहरु ल्याइसकेको ‘कन्दरा’ कन्सर्टमार्फत फेरि जुर्मुराएको छ ।

‘पहिला घरदेश अनि परदेश’ को नारासहित नेपालपछि अब विश्व टुरमा निस्कने तयारीमा छ उक्त सांगीतिक समूह ।

३२ वर्षपछि पहिलोपटक गत ९ नोभेम्बर सांझ काठमाडौंमा ऐतिहासिक कन्सर्ट गरेर ठूलो प्रशंसा बटुलेको उक्त ब्याण्ड आउंदो ४ जनवरीमा लन्डनस्थित विश्व प्रतिष्ठित भेन्यू ‘इण्डिगो एट द ओटु’ मा गुन्जने तयारी गर्दैछ । उसले ३२ औं वार्षिकोत्सव यहीं धुमधामसंग मनाउने घोषणा गरेको छ ।

कन्दराको विश्व टुर अन्तर्गत लन्डन शो परदेशमा पहिलो प्रस्तुति हुनेछ ।

‘पहिला आफ्नै घरदेश चिनौं, अनि परदेशमा आफ्नो पहिचान बोकौं । आफ्नो देशको सुगन्ध फैलाऔं’- कन्दराका गायक विवेक श्रेष्ठ भन्छन्।

बेलायतका १० जना नेपाली युवाहरुको कम्पनी मामाघर इन्टरटेनमेन्ट लि. ले इण्डिगो एट द ओटुमा गायक विवेक श्रेष्ठसहित कन्दरा ब्याण्ड र गायक स्वप्न सुमन एवं उनको ब्याण्ड द आस्टर्स उतार्ने भएको हो ।

कन्दरा र स्वप्नका ७/७ जना ब्याण्ड सदस्यहरु कन्सर्टकै लागि लन्डन आउन भिजा लिइसकेका बताइएको छ ।

नढाक न मुहार श्रृंगारले, वाचा भयो, जे छौ तिमी जस्ता कयौं हिट गीत गाइसकेका स्वप्न युवामाझ निकै लोकप्रिय छन् ।

‘म आफैं पनि कन्दरा ब्याण्डको फ्यान थिएं, उनीहरुले विश्व टुर गर्दैछन् भन्ने सुनेपछि कुराकानी अगाडि बढेर फाइनल भयो । त्यसपछि कन्दराको कन्सर्ट कसरी ग्राण्ड बनाउने भनेर ओटुमै गर्ने निर्णय गरेका हौं’, मामाघरका निर्देशक विमल तिमिल्सेना भन्छन्, ‘गत अगष्टतिर दशैं आसपासमा एउटा वृहत कार्यक्रम गर्ने भन्ने योजना थियो । तर, त्यो बेला मिलेन ।’

मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेना

सबै कलाकारहरु २ जनवरीमा आएर ७ जनवरीमा फर्कने छन् । नेपालबाटै आउने ब्याण्ड सदस्यहरुको लाइभ म्यूजिकका साथ हुने पहिलो ठूलो इभेन्ट, नेपालबाट आउने कलाकारहरुको जम्बो टिम र इभेन्ट खर्चिलो भएकाले चुनौति भने धेरै रहेको मामाघरका विमलले बताए । मामाघर इन्टरटेनमेन्टले उक्त कन्सर्टमा झण्डै ८० हजार पाउण्ड खर्च हुने अनुमान गरेको छ ।

उक्त कन्सर्टका लागि भेन्यू अपरान्ह ५ बजे खुल्छ । ७ बजे ग्राण्ड ओपनिङ भएपछि ८ बजेसम्म एक घण्टा स्वप्न टिमले प्रस्तुति दिने तालिका छ ।

त्यसपछि कन्दराले दुई घण्टा नन स्टप परफर्मेन्स दिनेछ । त्यहां खादामाला, भाषण वा सम्मान जस्ता कुनै औपचारिक कार्यक्रम नहुने तर कन्दराको ३२ वर्षको सेलेब्रेसन भने विशेष गरिने आयोजकको भनाइ छ । आङदोर्जे शेर्पा र सृजना गुरुङले कार्यक्रम होस्ट गर्नेछन् ।

कन्सर्ट हेर्न युरोप, स्कटल्याण्ड देखि इंग्ल्याण्डको मिडल्याण्ड, वेल्स् लगायत शहरबाट समेत दर्शक आउने भएका छन् । बेलायतमै रहेका पुराना नेपाली कलाकारहरुलाई पनि निमन्त्रणा गरिएको छ ।

जस्टिन बिबर, इड सिरन रक ब्याण्ड कोल्ड प्ले लगायत हलिउड र बलिउडका विश्व चर्चित कलाकारहरुले परफर्म गरिसकेको इण्डिगो एट द ओटु २७५० दर्शक क्षमताको छ ।
जसमा भिआइपी किंग्स् रोमा २१८ जना, बाल्कोनीमा ५५९ सिट र स्टयाण्डिङ १८ सय जना अट्छन् । धेरै टिकट ‘सोल्ड’ भइसकेकाले छिट्टै टिकट खरिद गरेर सिट सुरक्षित राख्न मामाघर इन्टरटेनमेन्टले अनुरोध गरेको छ । टिकट मूल्य ५७.५ पाउण्ड छ । रेयर बाल्कोनी अनलाइन लिंदा डिस्काउन्ट मूल्य ४२ पाउण्डमात्र पर्नेछ ।

बल्क लिन चाहनेलाई अनलाइन भन्दा प्रत्यक्ष भेटेर लिंदा सस्तो पर्ने जनाइएको छ । बेलायतका प्लमस्टिड, हन्स्लो, क्याम्बर्ली, फेल्थाम, बेजिङस्टोक, स्वीन्डन, आसफोर्ड लगायतका नेपाली पसलहरुमा पनि टिकट उपलब्ध रहेको विमलले जनाए । टिकट लिन इच्छुकले आफ्नो टिम सदस्यहरुलाई फोन गरे पोष्टमार्फत वा भेटेर उपलव्ध गराइने पनि उनको भनाइ छ ।

कन्सर्ट सकिएपछि युथहरुका लागि भान्जाभान्जी पार्टी (आफ्टर पार्टी) पनि गर्ने आयोजकको तयारी छ । कन्सर्टबाट आउनेलाई डिस्काउन्ट दिइने आयोजकले जनाएका छन् । त्यसको भेन्यू तय हुन बांकी छ ।

छोटो समयमै उदाएको मामाघर इन्टरटेनमेन्ट


मामाघर इन्टरटेनमेन्ट लि. गत वर्षमात्र स्थापना भएको हो । टिम विस्तार गरि हाल विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका १० युवा सो कम्पनीमा आवद्ध छन् ।

कम्पनीको निर्देशक विमल तिमिल्सेना हुन् भने शेयरहोल्डरहरुमा इन्द्रबहादुर ढकाल, राजाराम बुढाथोकी, अनिल बस्नेत, नितेश ढुंगाना, प्रशान्त भट्टराई, दयाराम बुढाथोकी, सुमन खतिवडा, सुमन पाण्डे र दिपेश रन्जित आवद्ध छन् ।

सबैले सम्झने मौलिक नाम राखेर कम्पनी खोलिएको बताउंदै निर्देशक तिमिल्सेना भन्छन्, ‘विदेशमा सबै काममा व्यस्त भएरमात्र बस्नु हुंदैन्, मनोरन्जन पनि गर्नुपर्छ भन्ने उद्देश्य हामीहरुको छ । हामी नेपाली कला संस्कृति जगेर्ना र पर्यटन प्रवर्धन गर्न पनि सचेत छौं ।’

सबै उमेरसमूह र पुस्तालाई समेट्ने खालका कार्यक्रम निरन्तर गर्ने टिमको योजना छ ।’त्यसैले ‘इभेन्ट फर अल जेनेरेसन’ स्लोगन राखिएको हो’, विमल प्रष्टयाउंछन् ।

मामाघरले स्थापना भएलगत्तै गत वर्ष पहिलो कार्यक्रम ‘दिमाग खराब’ मुभी प्रदर्शन र लाइभ ब्याण्ड प्रस्तुति गरेको थियो । दोश्रो कार्यक्रम नेपाली नयां वर्षको अवसरमा ‘हाम्रो न्यू इयर’ नामक कार्यक्रम भएको थियो मिलहिल स्कुलमा । त्यतिखेर शुभ ब्याण्ड र सुजेश वैद्यको प्रस्तुतिमा झण्डै ५०० जनाको क्राउड झुमेका थिए । बन्र्टओक नेपाली समाजसंग सहकार्य गरि भएको उक्त कार्यक्रममा कलाकारहरु भूमिका गिरी र निर्जला गुरुङ पनि सामेल थिए । अब हुन लागेको ओटु इभेन्ट मामाघरको तेश्रो हुनेछ ।

हेरौं मामाघरका निर्देशक विमलसंग नेपाली लिंकको भिडियो संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू