खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना प्रथम
लन्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित विश्वव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिंदै प्रथम पुरस्कार जितेकी छन् ।
१४ डिसेम्बर २०२४ मा आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उनले रु २ लाख नगद पुरस्कार प्राप्त गरिन् ।
यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु १ लाख र तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले रु ५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कार नगद रु ३० हजार जितिन् ।
प्रतियोगितालाई दुई उमेर समूह (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) मा विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्व मिस नेपाल सुगरिका केसी थिए ।
आयोजक एनसीसी इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीलाई एउटै मञ्चमा ल्याउनुका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले कार्यक्रमले सहभागीहरुको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा–संस्कृतिको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सम्पूर्ण विजेतालाई बधाई दिँदै दोस्रो पुस्ताका नेपालीहरुको उत्साहपूर्ण सहभागिता रहेकामा खुशी व्यक्त गरे ।
एनसीसी इजरायलले आफ्नो १७ औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए । ओजस्वी आचार्य र पेन्सा रेग्मी अतिथी वक्ताका रुपमा उपस्थित थिए । कार्यक्रम साँझ ५ बजे सुरू भई राती १० बजे सकिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५