काठमाडौं महानगरबाट १० स्रष्टालाई जनही डेढ लाख पुरस्कार


काठमाडौं । काठमाडौं महानगरपालिकाले ३०औं वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डंगोल लगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगदसहित सम्मान गरिएको हो।
लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के. सुन्दरलाई सम्मान गरिएको हो।
खेलतर्फ तेक्वान्दोका संगीना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ललाई सम्मान गरियो । उनीहरूलाई जनही एक लाख ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो।
समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो। दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर संकलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो।
आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरू गरिएको कामपाले जनाएको छ।
आजै यहाँ सांगीतिक कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय ब्याण्ड, महेस काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमलगायत कलाकारले प्रस्तुति दिनेछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५