बुधबार, माघ २, २०८१
08:50 | १४:३५

परराष्ट्रमन्त्री राणामाथि बेल्जियममा ‘अशोभनीय’ व्यवहारको निन्दा

नेपाली लिङ्क डिसेम्बर १४, २०२४

लुभेन । परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि गत बुधबार बेल्जियममा भएको अशोभनीय घटनाप्रति गैरआवासीय नेपाली संघ बेल्जियमले निन्दा गरेको छ ।

नेपाल सरकारको एक जिम्मेवार मन्त्रीलाई एनआरएनए पदाधिकारी नै संलग्न भएर विदेशी भूमिमा अपमान गरिनु निन्दनीय रहेको संघकी महासचिव रुविना शर्माले जनाएकी छन् ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यक्रम भइरहंदा बाहिर संघका उपमहासचिव राजेन्द्र कार्कीसहित केही व्यक्ति प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएका थिए । कार्कीको संलग्नता संघको विधान र भावना विपरित रहेको भन्दै संघकी महासचिव रुविना शर्माले उक्त कार्यप्रति असहमति र खेद व्यक्त गरेकी छन् ।

‘परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको अभिभावक मन्त्रालय भएको तथ्यलाई ध्यानमा राख्दै कसैको इशाराको प्रत्यक्ष निर्देशनमा उपमहासचिव कार्कीले संघको भावनालाई लत्याउँदै मन्त्रीविरुद्ध प्लेकार्ड प्रदर्शन गर्नु र राष्ट्रको इज्जत बोकेर आएकी नेपाल सरकारकै मन्त्रीलाई विदेशी भूमिमा अपमान गर्नु एकदमै निन्दनीय कार्य हो’, शर्माको विज्ञप्तिमा छ ।

उक्त घट्नाबाट पर्न गएको असरप्रति नेपाल सरकार र विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायसँग क्षमायाचनासहित घटनामा संलग्न व्यक्तिहरूमाथि संघको विधानअनुसार आवश्यक अनुशासनात्मक कारबाहीका लागि सम्बन्धित निकायहरूसँग तत्काल प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ ।

विज्ञप्तिमा राणाले युरोपमा नेपाल र नेपाली डायस्पोराको पहिचान सुदृढ गर्न, कूटनीतिक सम्बन्धहरू विस्तार र नेपाली समुदायका चासोहरू सम्बोधन गर्न गरेका प्रयासको उच्च प्रशंसा गरिएको छ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू