वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन काठमाडौंमा
काठमाडौं, मङ्सिर २८ गते । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार बिहान काठमाडौं ओर्लिएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरे ।
लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौं आएका हुन् ।
वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ ।
क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन् ।
एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा ३४ शतक र ४८ अर्धशतक प्रहार गरेका छन् ।
उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन् । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए ।
त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका छन् । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५