लन्डनस्थित नेपाली दूतावासमा सामाजिक सञ्जालको बेथितिबारे चिन्ता


लन्डन– नेपालमा सामाजिक सञ्जालमा बेथिति देखिएको भन्दै अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाललाई खबरदारी गर्ने निकायको आवश्यकतामा पनि उनीहरुले जोड दिए ।
एनआरएनए यूके तथा नेप्लिज इन यूकेद्वारा शनिबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले नेपालमा सामाजिक सञ्जाल नियमन गर्न आवश्यक भएको बताए । पौडेलले अहिले सामाजिक सञ्जालमा बेथिति देखिएको भन्दै सामाजिक सञ्जाललाई पनि खबरदारी गर्ने निकाय हुनुपर्नेमा जोड दिए ।
उनले नेपालमा ‘मिसइन्फर्मेशन’ (गलत सूचना) दिने प्रवृत्ति ठूलो समस्याको रुपमा आएको भन्दै गगन थापा (कांग्रेस महामन्त्री) तथा रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति) को नाम आउनासाथ गाली गर्ने प्रवृत्तिले सामाजिक सञ्जाल असहिष्णु थलो बन्दै जाने खतरा देखिएको बताए ।
उनले रुटिन अफ नेपाल बन्दमा आफूहरुले विभिन्न श्रोतबाट प्राप्त सूचनालाई तीन तहमा जांच गरेपछि मात्रै प्रकाशन गर्ने भएकाले युवाहरु माझ आफ्नो वेबसाइट लोकप्रिय भएको दावी गरे । उनले सामाजिक सञ्जालमा आएका सबै विषयलाई समाचार नबनाउन मिडियासमक्ष आग्रह पनि गरे।
बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीले बेलायतस्थित नेपाली संघसंस्थाले महाभूकम्प तथा कोभिडको बेला सहायता संकलन तथा सूचना सम्प्रेषण गर्न सामाजिक संजालको सफलतापूर्व उपयोग गरेको बताउंदै व्यक्ति विशेषलाई लक्षित गरी आक्षेप लगाउने तथा गाली गलौज गर्ने प्रवृत्ति भने निरुत्साहित गर्नु पर्ने बताए। उनले मिडियाले स्वनियमनका साथै कानूनको पालना गर्नुपर्ने पनि जनाए ।
अन्तरक्रियाको दोश्रो सत्रमा नेपाली भाषा संरक्षणबारे छलफल गरिएको थियो। अन्तरक्रियामा बोल्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाली भाषा, संस्कृति जोगाएर मात्रै नेपाली गौरव र नेपालीपन कायम राख्न सकिने बताए ।
उनले प्रवासमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपाली भाषा-संस्कृति सिकाउंदै नेपालसंग जोड्न दूतावासले पहल र राज्यले पनि सहयोग गर्ने जनाए।
एनआरएन अभियन्ता सेवानिवृत्त लेफ्टिनेन्ट चन्द्र गुरुङले आफूहरुले आफ्ना नानीहरुलाई नेपालसंग जोड्न प्रयास गरिरहेको र यसमा नेपाल सरकारले पनि मद्दत गर्नुपर्ने बताए।
कार्यक्रममा कवि तथा टिप्पणीकार नारायण गाउँले, पवन कंडेल, रबिन भारती, राजेन्द्र थापा मगर, सुवास शर्मा लगायतले आफ्नो धारणा राखेका थिए।
एनआरएनए यूके उपाध्यक्ष मनिष खत्रीले सञ्चालन गरेको उक्त कार्यक्रममा बीरेन्द्र नेपालले सबैलाई स्वागत गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५