बुधबार, माघ ९, २०८१
14:29 | २०:१४

विद्यार्थी भिजामा लन्डन आएका विकासले डेढ दशकमै बनाए व्यापार साम्राज्य (भिडियो)

नेपाली लिङ्क डिसेम्बर ८, २०२४

लन्डन । ‘नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४’ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेपछि नेपाल फुड्सका निर्देशक विकास नेपाललाई अहिले बधाइको ओइरो छ ।

गत सोमबार विश्वप्रसिद्ध स्थान रोयल एस्कटमा आयोजित समारोहमा विकासले उक्त अवार्ड लिएका थिए । उक्त अवार्ड बेलायतको खाद्य उद्योगमा उत्कृष्ट योगदानका लागि दिइन्छ ।

‘हामी सन् २०२४ को उत्कृष्ट नेपाली ब्रान्डको रूपमा चिनिन पाउँदा निकै हर्षित छौं। यो अवार्ड नेपाली खानाको प्रवर्धन गर्ने हाम्रो समर्पणको प्रमाण मात्र होइन, हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र लगन पनि हो। यस्तो प्रतिष्ठित प्लेटफर्ममा नेपाली संस्कृति र खानाको प्रतिनिधित्व गर्न पाउँदा हामी गौरवान्वित छौं’, नेपाल भन्छन् ।

अहिले व्यवसायमा सफलता चुमिरहेका विकासको विगत भने संघर्षपूर्ण रह्यो । सन् २००९ मा विद्यार्थी भिजा लिएर मास्टर्स एण्ड मार्केटिङ गर्न लन्डन आएका थिए उनी ।

त्यतिबेला बेलायत सरकारको खुकुलो अध्यागमन नीतिको फाइदा उठाउंदै विश्वभरबाट हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी पढ्न यूके ओइरिएपछि काम पाउन सजिलो थिएन, विकासले पनि धेरै संघर्ष गरे ।

‘इण्डियामा पढ्दा कल सेन्टरमा सेल्सको काम गरेकाले लन्डनमा पनि त्यस्तै प्रकृतिको केही जागिर खोज्छु भन्ने मनस्थिति बनाएको थिएं’, विकासले भने, ‘खोज्दै जांदा डोर टु डोर सेल्सको काम भेटें । घरमा ढोका ढक ढक गरेर ग्यास र विद्युत कन्ट्रयाक्ट परिवर्तन गर्ने काम थियो । बेचे कमिसन आउने, नभए शुन्य हुन्थ्यो ।’

सांझ ४ देखि ८ बजेसम्म काम गर्नुपर्ने थियो । अंग्रेजी भाषा शुरुतिर अलिक कठिन हुने नै भयो । काम थालेको ७ औं दिनमा मात्र सेल्स् भएको उनले स्मरण गरे ।

‘त्यसपछि अगाडि बढ्दै गएं । जागिर गारहो भएपनि पैसा राम्रै आउंथ्यो । पढाइ पनि संगै बढाएं’, उनले सुनाए, ‘सन् २०१२ मा पढाइ सकिएर पिएसडब्लु (पोष्ट स्टडी वर्क) भिजामा पनि त्यही काम गरें ।’

जब पिएसडब्लु भिजा सकियो, उनलाई चुनौति थपियो कि भिजा स्वीच (परिवर्तन) गर्ने वा नेपाल फर्कने । उनले हरेस खाएनन् । वाध्यताबीच सन् २०१४ मा विजनेश भिजामा स्वीच गरे मार्केट डाइरेक्ट कम्पनी खोलेर । विकासले हल्डीराम, डाबर, कोहिनुर जस्ता २३ वटा क्लाइन्ट्स बनाए । ति कम्पनीको मार्केटिङ उनले नै हेर्ने गर्थे, सन् २०१६ सम्म त्यो काम गरे ।

उनलाई सधैं भारतीय उत्पादनमात्र बेचेर सन्तुष्टि मिलिरहेको थिएन । पैसा थियो तर नेपालका लागि के गरें त भन्ने प्रश्नले पिरोलिइरहेको थियो ।

‘अब नेपाली सामानको काम गर्छु भन्ने भएर मैले वाइवाइ, खुकुरी रम र ओल्ड दरबार बेच्न थालें । तर, यसबाट पनि चाहेजस्तो सन्तुष्टि मिलेन’, विकासले भने, ‘आफ्नै ब्राण्डमा धेरै नेपाली उत्पादनहरु हाल्छु भनेर सन् २०१८ मा नेपाल फुड्स कम्पनी लन्च गरें ।’

आकर्षक प्याकेजिङमा प्रिमियम नेपाली प्रडक्ट्स बेलायतमा थिएन । उनले इण्डियन ब्राण्डसंग काम गर्दा सिकेको अनुभव र गुणस्तर नेपाल फुड्समा लगाए । त्यसकारण अहिले उनका उत्पादन नेपाली र भारतीय समुदायमाझ प्रख्यात छ ।

सन् २०१८ मा नेपाल फुड्स शुरु गर्दा चिउरा, दाल, अचार, पिठो, भटमास जस्ता ५० वटा सामग्री थिए उनीसंग । अहिले ३०० बढी उत्पादन छन् वेयरहाउसमा । अचार, मसला चिया, स्न्याक्स, चिजबल्स्, बियर, पानी, मःम देखि नुडल्ससम्म । नेपाली भान्सालाई चाहिने नुन तेल, खुर्सानीदेखि सबै चीज उपलब्ध छ ।

बीबीसी मास्टर सेफ सन्तोष साहको सहकार्यमा बनाइएको ‘प्रि कुक्ड हिट एण्ड इट’ खानाले गर्दा आफूलाई नन नेपाली कष्टमरतिर पनि छिर्न सजिलो भएको उनी बताउंछन् ।

एनिमल प्रडक्ट्स नेपालबाट बेलायत ल्याउन ‘अलाउड’ छैन् । त्यसकारण बुल्गेरिया फ्याक्ट्रीबाट आउंछन् त्यस्ता सामग्री । मःम भने यहीं बन्ने उनले बताए । उनका भनाइमा मःम भारतीयले बढी खान्छन् ।

उनीमाथि व्यवसायिक चुनौति पनि छ । ग्राहकले भारतीय सामान भन्दा तपाईंको नेपाली किन महंगो भनेर विकासलाई सोधिरहन्छन् । त्यस प्रश्नमा उनको जवाफ छ, ‘हाम्रो उद्योग धेरै ठूलो छैन् । मास प्रोडक्सन नभएर सामान पनि पर्याप्त उपलब्ध हुन्न । रोड ट्रान्सपोर्टले गर्दा भारत भन्दा नेपालबाट सामान ल्याउन तेब्बर महंगो छ ।’

‘नेपाली चिनौं, नेपाली नै किनौं’ भन्ने स्लोगन नेपाल फुड्सको छ । ‘नेपाली भएर नेपालका लागि केही गरौं भन्छु म । तपाईंले थोरै बढी मूल्य दिंदा त्यो जाने नेपाल नै हो । विदेशी सामान भन्दा नेपाली किन्नुस्। हाम्रो कम्पनीको नै लिनु पर्छ भन्ने पनि होइन्’, उनी भन्छन् ।

नेपालमा सस्तो, महंगो विभिन्न क्याटेगोरीका सामान पाइने भएकाले आफूले उच्च क्वालिटीको सामान नै उठाउने गरेको दावी विकासको छ ।

नेपालबाट सामान आएपछि त्यसलाई हाइजेनिक र गुणस्तरिय बनाउन बेलायतमा प्रशोधन गरिने पनि उनले बताए । प्याकिङ भएपछि ति उत्पादन आइएसओ, एफडिएमा रजिष्टर्ड हुने उनको भनाइ छ ।

विकासले सन् २०१८ मा नेपाल फुड्स खोल्दा यूके टार्गेट गरे । सन् २०१९ मा युरोप छिरे । स्वीडेन, जर्मनी, बेल्जियम लगायत सबैतिर पुग्यो उनका सामान ।

त्यसपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान लगायत लगभग २५ देशमा नेपाली उत्पादन बेचिरहेको उनले बताए ।

उनले गत अप्रिलबाट नेपाली बियर उत्पादन तथा विक्री वितरण पनि शुरु गरेका छन् । उक्त बियर करिब ७ महिनामा ४ वटा देशमा पुगिसकेको छ । बियरमा नेपाली कष्टमरलाई लाइट ४.५ प्रतिशत छ अल्कोहल । ‘तर, विदेशीमाझ राम्रो फिडब्याक आएको छ’, उनले भने, ‘सेकेण्ड ब्राण्ड अलिक स्ट्रङ बनाउने योजना छ ।’

विकासले दुई साताअघि मात्र गुड फुड कम्पनी पनि शुरु गरेका छन् । गैर नेपालीलाई सामान बेच्न नन नेपाली ब्राण्ड खडा गरेको उनले बताए । भारतीय समुदायमा काम गरेर बनाएको पुरानो सम्बन्धलाई उपयोग गर्दै विशेष गरि भारतीय सामान बेच्न उक्त कम्पनी शुरु गरेको उनले खुलाए ।

नेपाल फुड्सका केही उत्पादनहरु-

हेरौं विकास नेपालसंग नेपाली लिंकको भिडियो संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू