बुधबार, माघ ९, २०८१
15:53 | २१:३८

भूतपूर्व गोर्खा बुढामगरले पाए बेलायतको प्रतिष्ठित ‘एमबीइ’ अवार्ड

नेपाली लिङ्क डिसेम्बर ७, २०२४

लन्डन । कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरि बुढामगर ‘एमबीइ’ अवार्डबाट सम्मानित भएका छन् ।

वीन्जर क्यासलमा बुधबार आयोजित समारोहमा प्रिन्सेस आनको बाहुलीबाट उनले ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक पाए ।

अद्भूत उपलब्धि र बेलायत अनि समुदायका लागि उत्कृष्ट सेवा गरेवापत सरकारको सिफारिसमा राजदरबारले उक्त प्रतिष्ठित पदक प्रदान गर्ने गर्छ ।

बेलायतको क्यान्टबरी केन्ट बस्ने बुढामगरले अवार्ड लिने क्रममा राजकुमारीसंग म सातवटा सर्वोच्च शिखर चढ्ने अभियानमा छु भन्दा उनी केही बेर बोल्न नसकेको स्मरण गरे ।

‘अवार्ड पाएपछि खुशी हुने त भइहाल्छ । यसले राम्रो काम गरे रिकग्नाइज हुंदो रहेछ भन्ने भएको छ’, उनले भने, ‘यसले मेरो डिसएबिलिटी अवारनेस 
गर्ने मुख्य उद्देश्यमा थप प्रेरणा मिलेको छ ।’

बुढामगरले सन् २०२६ भित्र सातै महादेशको सर्वोच्च शिखर (सेभेन समिट) आरोहण गर्ने लक्ष्यसहित हालसम्म ४ वटा सगरमाथा (एसिया), मन्ट ब्लंक (युरोप), अफिकाको माउन्ट किलिमन्जारो र नर्थ अमेरिकाको डेनाली हिमाल आरोहण गरिसकेका छन् ।

उनले आउंदो फेब्रुअरीमा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित सबैभन्दा अग्लो हिमाल आकान्कागुवा चढ्ने योजना सुनाए ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा अफगानिस्तान युद्ध मैदानमा दुवै खुट्टा गुमाएका बुढामगरले गत वर्ष मे १९ का दिन वसन्त ऋतुमा कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरि विश्व कीर्तिमान राखेका थिए ।

बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका हुन् ।

उनको लगन, साहस र गौरवको प्रतीक सबैका लागि प्रेरणाको श्रोत मानिन्छ ।

रोल्पा थबाङ गाउँपालिकाको मिरुल ३ स्थायी निवासी बुढामगरले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा घुँडाभन्दा मूनीबाट आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

उक्त घट्नापछि मानसिक समस्याले पिरोलिएर बेला बेला आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेपनि परिवारका लागि आत्मबल लिएर खेल तथा साहसिक गतिविधिमा लागेको उनी बताउंछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू