बुधबार, माघ ९, २०८१
15:37 | २१:२२

लन्डन न्यू इयर डे परेडमा पहिलोपटक प्रदर्शन हुंदै नेपाली कला, संस्कृति

नेपाली लिङ्क डिसेम्बर ५, २०२४

फाइल तस्विर: लन्डन न्यू इयर डे परेड २०२४

लन्डन- अंग्रेजी नयाँ वर्षमा लन्डनमा आयोजना हुने विश्व प्रतिष्ठित परेडमा पहिलोपटक बेलायतस्थित नेपाली समुदायले पनि भाग लिने भएको छ ।

आगामी जनवरी १ तारिख नयाँ वर्षका दिन लन्डनमा आयोजना हुने ‘लन्डन न्यू इयर डे परेड’ मा नेपाली समुदाय पनि सहभागी हुने तयारीमा जुटेको हो ।

लन्डनको रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाटको विशेष पहलमा बरोको प्रतिनिधित्व गर्दै स्थानीय नेपालीहरुले परेडमा भाग लिने भएका छन् ।

साउथ इष्ट लन्डनमा रहेका विभिन्न नेपाली संघसंस्थासमेतको सहभागितामा परेडमा नेपाली भेषभूषा, बाजागासहितका मौलिक कला, संस्कृति झल्काउने प्रस्तुति देखाउने तयारी गरिएको छ ।

परेडमा नेपाली समुदायको सहभागिताको संयोजन गरिरहेका स्थानीय समाजसेवी श्रीचन्द्र गुरुङले परेडमा नेपाली मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने तयारी भइरहेको नेपालीलिंकलाई जानकारी दिए ।

मिडल्यान्डको कोभेन्ट्रीबाट आउने नौमती बाजादेखि पासा पुचः यूकेको धिमेबाजासम्मका मौलिक नेपाली कलात्मक प्रस्तुति परेडमा देखाइने उनले बताए ।

एक समूहबाट अधिकतम १ सय जनासम्म सहभागी बन्न पाइने परेडमा भाग लिने नेपालीहरु आ-आफ्नो पहिचान झल्काउने मौलिक भेषभूषामा उपस्थित हुनेछन् ।

लन्डनको नयाँ वर्ष परेड अंग्रेजी नयाँ वर्षका दिन आयोजना हुने संसारकै सबैभन्दा ठूलो परेड मानिन्छ । सन् १९८७ यता हरेक वर्ष हुंदै आएको यो परेड हेर्न लाखौं दर्शकको प्रत्यक्ष उपस्थिति हुने गरेको छ ।

बेलायतदेखि अमेरिकासम्मका प्रसिद्ध अन्तरराष्ट्रिय मिडियाबाट करोडौं दर्शकमाझ प्रत्यक्षप्रसारण समेत हुने परेडको यस वर्षको संस्करणमा ७५ समूहले भाग लिंदैछन् ।

लन्डनस्थित विभिन्न बरोहरुदेखि बेलायत र अमेरिकासेमतका विभिन्न समूह, संस्था र च्यारिटीहरु परेडमा सहभागी हुनेछन् । परेडमा प्रस्तुतिका आधारमा उत्कृष्ट हुने समूहहरुलाई हजारौं पाउन्डनगदसहित पुरस्कृत पनि गर्ने गरिएको छ ।

नयाँ वर्षका दिन मध्यान्ह लन्डनको पिकाडेलीबाट सुरु हुने परेडले रिजेन्ट स्ट्रिट, सेन्ट जेम्स, पल मल, ट्राफल्गर स्क्वायर हुंदै ह्वाइट हलसम्मको दुई माइल दूरी पार गर्नेछ ।

लन्डनस्थित विभिन्न च्यारिटीका लागि कोष जुटाउने लक्ष्य परेडको हुने गरेको छ । यही परेडमार्फत् च्यारिटीलाई हालसम्म २ मिलियन पाउण्ड बढी सहयोग जुटाइसकिएको छ ।

लन्डनको रोयल ग्रीनवीच बरोका मेयर जीत रानाभाटले सिंगो संसारले अवलोकन गर्ने परेडमा पहिलोपटक नेपालीसुमदायसमेतको सहभागिता हुनु गौरवको विषय भएको बताए । परेडमा प्रस्तुत गरिने मौलिक नेपाली भेषभूषा, बाजागाजासहितका सांस्कृतिक कार्यक्रमले संसारमाझ नेपाली पहिचान स्थापनाका लागि सहयोग पुर्याउने आशा रानाभाटको छ ।

परेडमा हुन लागेको नेपाली समुदायको पहिलो सहभागितालाई विशेष बनाउने अठोट संयोजक श्रीचन्द्र गुरुङले व्यक्त गरेका छन् ।

‘संसारमा हाम्रो देश नेपालमा मात्रै प्रचलित नौमतीबाजा र धिमेबाजाजस्ता मौलिक सांस्कृतिक प्रस्तुति यस वर्ष लन्डन नयाँ वर्ष परेडको विशेष आकर्षण बन्छन् भन्ने हामीलाई विश्वास छ’, गुरुङले भने, ‘परेडमा पहिलोपटक सहभागिता मात्र होइन, प्रस्तुतिमा उत्कृष्ट बन्ने गरी हामी तयारी गर्दैछौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू