बिहीबार, पुष ११, २०८१
10:26 | १६:११

नर्वेले तालिबानद्वारा नियुक्त राजदूत स्वीकार नगर्ने

रासस/एएफपी डिसेम्बर ५, २०२४

ओस्लो । महिला र केटीहरूको व्यवहारको विरोधमा सम्बन्धहरू यथावत रहेको अवस्थामा तालिबानद्वारा नियुक्त कुनै पनि नयाँ अफगानिस्तानी राजदूतलाई मान्यता नदिने नर्वेले बिहीबार घोषणा गरेको छ ।

ओस्लोमा रहेको अफगानिस्तान दूतावास सेप्टेम्बर १२ मा बन्द नभएसम्म पहिलेको पश्चिमी समर्थित सरकारप्रति वफादार अधिकारीहरूद्वारा सञ्चालित थियो ।

काबुलमा रहेका तालिबान अधिकारीहरूको अनुरोधमा मिसन बन्द गरिएको नर्वेली अधिकारीहरूले बताए । तालिबानले सन् २०२१ मा अफगानिस्तानमा पुनः नियन्त्रण लिए तर कुनै पनि देशले औपचारिक रूपमा मान्यता दिएनन् ।

“हामीले तालिबानलाई यदि तिनीहरूको कोही नयाँ अफगानिस्तानी राजदूत पठाउने इच्छा छ भने ओस्लोमा स्वीकार गर्ने कुरै छैन भनी स्पष्ट पारेका छौँ”, नर्वेका विदेशमन्त्री एस्पेन बार्थ एइडेले भने, “हालै अफगानिस्तानमा विशेष गरी अफगान महिला र केटीहरूलाई प्रभावित गर्ने नयाँ प्रतिबन्धहरू लगाइएका छन्, यही कारणले नर्वेले आफ्ना सम्बन्धहरू कम गर्दै छ ।”

नर्वेले ‘कन्सुलर मामिला, भिसा र अन्य जरुरी मामिलाहरू’ सम्हाल्न मात्र अफगान अधिकारीलाई स्वीकार गर्ने उनले विज्ञप्तिमा बताए ।

अफगानिस्तानमा महिला र केटीहरूका लागि स्थितिमा थप कठोरता ल्याइएपछि सम्बन्धहरू कम गर्ने निर्णय त्यसपछि आएको हो । अफगानिस्तानमा पहिले नै महिला तथा केटीहरूलाई १२ वर्ष उमेरपछि औपचारिक शिक्षाबाट निषेध गरिएको छ र क्रमशः सार्वजनिक स्थानहरूबाट विस्थापित गरिएको छ ।

सेप्टेम्बरमा तालिबान अधिकारीहरूले आफ्ना कर्मचारीलाई बर्खास्त गरेपछि लन्डनस्थित अफगान मिसन पनि बन्द गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू