बुधबार, माघ ९, २०८१
23:57 | ०५:४२

एनपिएलमा मार्की खेलाडीको प्रदर्शन यस्तो रह्यो

रासस डिसेम्बर ५, २०२४


काठमाडौँ, मङ्सिर २०-शनिबारदेखि काठमाडौंमा सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बुधबारसम्म आइपुग्दा सातवटा खेल भए ।

एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स र पाँचौँ खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा भयो ।

त्यस्तै, आज कर्णाली याक्स र काठमाडौं गुर्खाज र विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच पनि खेल भयो ।

सात खेलमध्ये दुई–दुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जित हात पारे । सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो । विराटनगर किंग्स तीनवटा खेल खेल्दा दुईवटामा हार व्यहोरो।

कर्णाली याक्स दुईवटै खेलमा पराजित हुँदा एक खेल मात्रै खेलेको पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे । काठमाडौं गुर्खाजले दुई खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो ।

एनपिएलका लागि आठ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए । लक्की ड्रमार्फत काठमाडौंले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको थियो ।

त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रुपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो । एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । 

आसिफ शेख, जनकपुर बोल्ट्स

जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ ।

एनपिएलको पहिलो तथा उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई आठ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उनी शून्य रनमै पभेलियन फर्किनुपरेको थियो ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्‍यो । कर्णालीविरुद्ध जनकपुर बोल्ट्सले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ शेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठुलो साझेदारी पनि बन्यो ।

जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।

कुशल मल्ल, चितवन राइनोज

नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुवै खेलमा जित हात पारेको छ । पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेटले हरायो । काठमाडौंसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । उनी ११ रनमा आउट हुन पुगे । तर, बलिङमा भने एक विकेट लिन सफल भए ।

चितवनले आफ्नो दोस्रो खेलमा मंगलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरुद्ध ३८ रनको योगदान दिए । सो क्रममा मल्लले चार छक्का र एक चौकासमेत प्रहार गरे । तर, पोखराविरुद्ध दुई ओभर बलिङ गरेका उनले एक विकेट पनि झार्न सकेनन् । उल्टै, ११ रन खर्चिन पुगे ।

सन्दीप लामिछाने, विराटनगर किंग्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने विराटनगर किङ्ग्सको मार्की खेलाडी हुन् । सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स आठ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरुद्ध सात रन मात्रै प्रहार गरे । तर, बलिङतर्फ भने जम्न सकेनन् । उनले जनकपुरको एक विकेट पनि झार्न सकेनन् ।

विराटनगर किंग्स आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरुद्ध ब्याटिङतर्फ आठ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सकेनन् ।

यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई दुई विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ । लुम्बिनीविरुद्ध ब्याटिङतर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सके ।

सोमपाल कामी, कर्णाली याक्स

जारी एनपिएलमा दुई खेल खेलेको कर्णाली याक्सको प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुई खेलमा दुवै खेल हार्न पुगेको छ । पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग आठ विकेटले पराजित हुन पुग्यो । यो खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् ।

दोस्रो खेलमा कर्णाली याक्स काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित हुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौंविरुद्ध एक विकेट लिन भने सफल भए ।

करण केसी, काठमाडौँ गुर्खाज

जारी एनपिएलमा काठमाडौं गुर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले हार्न पुग्यो ।

पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङतिर । केसीले काठमाडौं गुर्खाजविरुद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट भएका थिए भने बलिङतर्फ भने जम्न सकेनन् ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौंले कर्णालीलाई तीन विकेटले पराजित गर्‍यो । यो खेलमा केसीको प्रदर्शन सानदार नै थियो । काठमाडौंविरुद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाएका थिए भने बलिङतर्फ एक विकेट लिन सफल भए ।

दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स

जारी एनपिएलमा एक खेल खेलेको सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रदर्शन गर्‍यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्‍यो ।

यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रदर्शन सानदार नै रह्यो । उनले अर्धशतक पारी खेले । विराटनगरविरुद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए ।बलिङतर्फ भने एक विकेट हात पार्न सकेनन् । उल्टै दुई ओभरमा नौ रन खर्चिन पुगे ।

कुशल भुर्तेल, पोखरा एभेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनरसमेत रहेका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । तर, जारी एनपिएलमा पोखराको सुरुवात राम्रो हुन सकेन ।

एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नुपर्‍यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सकेनन् । राइनोजविरुद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगे । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिए । तर, खेलमा उनले तीनवटा क्याच भने समाते ।

रोहितकुमार पौडेल, लुम्बिनी लायन्स

एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुन् । रोहित नेतृत्वको लुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग दुई विकेटले पराजित भयो ।

लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । तर, बलिङ भने गरेनन् । यसैबिच नेपाल प्रिमियर लिग एनपिएलमा आज बिहीबार दुईवटा खेल हुँदै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा अहिले पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबिचको खेल जारी छ ।

यस्तै, दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच हुनेछ। लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो।

यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो। पोखराको यो दोस्रो खेल हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू