बुधबार, माघ ९, २०८१
15:59 | २१:४४

नेपाल फुड्सलाई लन्डनमा उत्कृष्ट ब्रान्डको अवार्ड

नेपाली लिङ्क डिसेम्बर ३, २०२४


लन्डन । नेपाल फुड्सले लन्डनमा आयोजित नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको छ ।

सोमबार विश्वप्रसिद्ध स्थान रोयल एस्कटमा आयोजित समारोहमा नेपाल फुड्सका निर्देशक विकास नेपालले उक्त अवार्ड लिए ।

उक्त अवार्ड बेलायतको खाद्य उद्योगमा उत्कृष्ट योगदानका लागि दिइन्छ ।

नेपाल फुड्सका निर्देशक विकास नेपालले अवार्ड पाउँदा खुशी र कृतज्ञता व्यक्त गरेका छन् । ‘हामी सन् २०२४ को उत्कृष्ट नेपाली ब्रान्डको रूपमा चिनिन पाउँदा निकै हर्षित छौं। यो अवार्ड नेपाली खानाको प्रवर्द्धन गर्ने हाम्रो समर्पणको प्रमाण मात्र होइन, हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र लगन पनि हो। यस्तो प्रतिष्ठित प्लेटफर्ममा नेपाली संस्कृति र खानाको प्रतिनिधित्व गर्न पाउँदा हामी गौरवान्वित छौं’, नेपालले भने ।

अवार्डले खाद्य उद्योगको प्रतिष्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको उनले उल्लेख गरे ।

अवार्डले नेपाल फुड्सको प्रमाणिकता, गुणस्तर र नवप्रवर्तनका लागि नेपाली स्वादलाई विश्वव्यापी दर्शकमाझ पुरयाउने प्रतिवद्धतालाई उजागर गरेको नेपाल फुड्सले जनाएको छ ।

नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफ्नो स्थान सुदृढ बनाएको कम्पनीको भनाइ छ ।

उक्त कम्पनीले बेलायतसहित अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरि २५ देशमा झण्डै तीनसय नेपाली उत्पादन आपूर्ति गरिरहेको छ ।

सन् २००९ मा अध्ययनका लागि लन्डन आएका नेपालले सन् २०१४ मा मार्केट डाइरेक्टबाट व्यवसाय शुरु गरि सन् २०१८ देखि नेपाल फुड्स कम्पनी शुरु गरेका थिए ।

अवार्डस् कार्यक्रममा खानाका पारखी, समीक्षक र व्यवसायीहरुको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू