बुधबार, माघ ९, २०८१
00:11 | ०५:५६

एनपिएलः जनकपुरको लगातार दोस्रो जीत, चितवनलाई विजयी सुरुआत्

नेपाली लिङ्क डिसेम्बर २, २०२४

काठमाडौँ- ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।

जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए ।

यस्तै आशिफ शेखले ३६ रन बनाए । अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाए । बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए ।

त्यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाउए ।

भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट भए । महँगो मूल्यामा कर्णालीमा अनुबन्ध भएका धवनले १४ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । बाबर हायतले १२ रन जोड्नुभयो ।

बलिङमा जनकपुरका मोहम्मद मोहसिनले दुई विकेट लिए । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिए।

यसअघि सोमबार बिहान भएको खेलमा चितवन राइनोजले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।

जीतका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

चितवनका लागि सन्तोष कार्कीले अविजित सर्वाधिक २८ रन बनाए । यस्तै ल्यूक मार्टिन बेनकेन्स्टाइनले २२, ओपनर हसन इसाखिलले १२, कप्तान कुशल मल्ल र रवि बोपराले ११-११ तथा सरद भेषवाकारले अविजित ११ रन योगदान गरे ।

बलिङमा काठमाडौँका साहब आलमले तीन विकेट लिए । डन डाउथवेट र जेरार्ड इरासमसले एक एक विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनाएको थियो । काठमाडौँका लागि सुमित महर्जनले सवाधिक २९ रन बनाए ।

यस्तै ओपनर माइकल लेभिटले २५ रन, डन डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन योगदान गरे । काठमाडौँको ब्याटिङ धराशायी बनाउन बलिङमा चितवनका सोहेल तानभिरले पाँच विकेट लिए । उनी प्लेयर अफ दि म्याच बने ।

सोहेलले चार ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिएका हुन् । उनी एनपिएलको एउटै इनिङ्समा सर्वाधिक पाँच विकेट लिने पहिलो खेलाडी पनि बनेका छन्।

यस्तै कुशल मल्ल, अमरसिंह रौतेला, ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एक एक विकेट लिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू