बुधबार, माघ ९, २०८१
05:03 | १०:४८

प्रधानमन्त्री नेतृत्वको टोली चीन प्रस्थान

नेपाली लिङ्क डिसेम्बर २, २०२४


काठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेतृत्वको टोली चीन प्रस्थान गरेको हो ।

प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो औपचारिक चीन भ्रमण हो ।

प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँ रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायत आयोजना अगाडि सार्ने योजना छ ।  


प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीनले बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको थियो । 

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्ने गरी नेपाल तयार भएको छ ।

चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजना सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल नै गठन गरेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू