उपनिर्वाचन: ३७ स्थानको परिणाम आउंदा कांग्रेस पहिलो स्थानमा



तस्बिर- जनार्दन घिमिरे/रासस
काठमाडौँ, मङ्सिर १७ गते । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ।
नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा छ।
नेकपा (एमाले) ले एक अध्यक्ष, एक उपाध्यक्षसहित ५ वटा वडामा जित हात पारेको छ।
सेतोपाटीका अनुसार, जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।
कांग्रेसले जितेका स्थानहरू
नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका-८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेस उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले ३ सय ६० मत प्राप्त गरे।
सुनसरीको गढी गाउँपालिका-६ मा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ८ सय १६ ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७ सय ९४ मत ल्याए।
रौतहटको ईशनाथ नगरपालिका-७ मा कांग्रेसका शेख अब्दुल खलिक निर्वाचित भए। उनले ६ सय २७ मत ल्याएर वडाध्यक्ष जित्दा एमालेका शेख अनवारले ५ सय ७५ मत ल्याए।
रौतहटको राजपुर नगरपालिका—६ मा कांग्रेसका समसे आलम निर्वाचित भए। उनले ७ सय ४४ मत ल्याएर वडाध्यक्ष जिते। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरूलाहले ४ सय ६३ मत प्राप्त गरे।
काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भए। उनले ५ सय ६२ मत प्राप्त गरे। एमालेका हर्ष महर्जनले ४ सय ९८ मत ल्याए।
कीर्तिपुर नगरपालिका–४ मा कांग्रेसका राजेन्द्र बानियाँ ७ सय ४२ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ४ सय ९५ मत ल्याइन्।
हेटौंडा-१२ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भए। उनी २ हजार ६३ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित भएका हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडामा नेकपा (माअोवादी केन्द्र) निर्वाचित भएको थियो। त्यतिबेला माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका थिए।
यसपटक हेटौंडा-१२ मा माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गरे। नेकपा (एमाले) का उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोनले १७८ र राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बलले ८३ मत ल्याए।
गुल्मीको मुसिकोट–१ मा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारे।
कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले १ हजार १ सय ८४ मत पाएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत पाए। त्यस्तै माओवादी उम्मेदवार दुर्गा बिकले १ सय ४३ मत पाए।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका भुपमणि पुन मगरले ६ सय ४३ मत ल्याएर जित हात पारे। उनका प्रतिस्पर्धी एमालेका बेगम पुनले ५ सय ३५ मत ल्याए।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा कांग्रेसका अमिन थारू निर्वाचित भए। उनले १ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुर थारूले ६ सय ७८ मत ल्याए।
जाजरकोटको कुशे गाउँपालिका-७ मा कांग्रेसका खम्बबहादुर सिंहले वडाध्यक्ष जिते। उनले ३ सय ४७ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३ सय ३२ मत प्राप्त गरे।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-५ मा कांग्रेसका मोतीराम खत्रीले वडाध्यक्ष जिते। उनले ५ सय ९० मत प्राप्त गर्दा माओवादी केन्द्रका जसीराम बस्नेतले ५ सय ३७ मत ल्याए।
बझाङको सूर्मा गाउँपालिका—४ मा कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहराले ४ सय ८७ मत ल्याए।
डोटीको पुर्वीचौकी गाउँपालिका-६ मा नेपाली कांग्रेसका मोहन थापा निर्वाचित भए। उनले ४ सय ६८ मत प्राप्त गर्दा एमालेका देवबहादुर थापाले ३ सय १ मत ल्याएर दोस्रो भए।
दार्चुलाको दुहु गाउँपालिका-५ मा कांग्रेसका धनसिंह कुँवर निर्वाचित भए। उनले ३ सय ७६ मत प्राप्त गर्दा एमालेका मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरे।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा कांग्रेसका प्रकाश चन्द १ हजार १ सय ७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरे।
एमालेले कहाँ-कहाँ जित्यो?
ताप्लेजुङको सिरिजंघा-३ मा एमालेका कुमारी सावादेन निर्वाचित भइन्। उनले ३ सय ५३ मत प्राप्त गर्दा माओवादी केन्द्रकी अम्बी साउदेनले २ सय ५१ मत ल्याइन्।
ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भए। उनले ३९९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याए।
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ मा एमालेका सकिवुल खाँ निर्वाचित भए। खाँले ६ सय ३१ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत ल्याइन्।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा एमालेका मोहमत ताहिर मुसलमानले वडाध्यक्ष जिते। उनले १ हजार १५० मत ल्याएर वडाध्यक्ष जित्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत ल्याए।
दैलेखको दुल्लु नगरपालिका-१३ मा एमालेका लालबहादुर शाहीले ५ सय ७४ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५सय ७१ मत ल्याए।
दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचना भण्डारी निर्वाचित भएकी छन्।
उनले १ हजार ७ सय ४० मत ल्याइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ मत ल्याइन्।
एकीकृत समाजवादीकी जपा शाहीले ५ सय ५३ मत ल्याइन्।
माओवादी केन्द्रले जितेका ठाउँ
उदयपुरको त्रियुगा नगरपालिका-१२ माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई निर्वाचित भए। उनले ९२३ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत ल्याएर दोस्रो भए।
धनुषाको धनुषाधाम नगरपालिका-१ मा माअोवादी केन्द्रका सुनील कापर केवट विजयी भए। उनले ६८४ मत ल्याउँदा नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत ल्याए।
नुवाकोटको ककनी गाउँपालिका-२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन्।
उनी १ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत प्राप्त गरे।
गोरखा नगरपालिका-५ माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित भए। उनले ४ सय ८६ मत ल्याएर अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए।
रोल्पाको पुथा उत्तरगंगा-२ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध वडाध्यक्ष चुनिएका थिए।
मोरङको ग्रामथानको अध्यक्षमा नमोनारायण माझी ६ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा देवका लामिछाने निर्वाचित भएकी छन्। उनी ४ हजार २ सय ७२ सहित उपमेयर निर्वाचित भएकी हुन्।
उनका प्रतिस्पर्धी कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत ल्याइन्। एमालकी सुनीता बोहराले २ हजार ५ सय ४२ मत प्राप्त गरिन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को अध्यक्षमा नरबहादुर झाक्री निर्वाचित भएका छन्। उनले १ सय ६१ मत प्राप्त गरे। निकटतम एमालेका प्रतिद्वन्द्वी नरबहादुर रोकाले १ सय १६ मत प्राप्त गरे।
डाक्नेश्वरीका दुवै वडामा जसपा
स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार वडा नम्बर १ को अध्यक्षमा जसपा धिरेन्द्रकुमार शाह निर्वाचित भए। उनले ६ सय ५२ मत ल्याए।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी भुलियादेवी थरूनीले ५ सय ८७ मत ल्याइन्। तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार भगबानी शाहले २ सय ५६ मत ल्याए।
डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपाका देवेन्द्रप्रसाद यादव निर्वाचित भए। उनले ३७२ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जोगिन्द्रराय अमातले २ सय ७७ मत ल्याए। तेस्रो भएका जनमत पार्टीका उदयनारायण पण्डितले २ सय ३१ र एमालेका सञ्जयकुमार यादवले ६८ मत प्राप्त गरे।
गत स्थानीय तह निर्वाचनमा यी दुवै वडामा नेपाली कांग्रेस निर्वाचित भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि खोल्यो खाता
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ।
पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो। रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे।
एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जिते एकएक ठाउँ
रौतहटको गढीमाई नगरपालिका—८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भए। उनले ६ सय ५५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६ सय ३१ मत ल्याइन्।
कालीकोटको तिलागुफा नगरपालिका—४ मा नेपाल मजदुर किसान पार्टीले जित हात पार्यो। त्यहाँ नेमकिपा खड्गराज शाहीलाई १ सय ४३ मत ल्याएर अध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीले १ सय १५ मत ल्याइन्।
झापाको कन्काई नगरपालिका—६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत ल्याए।
रिक्त रहेका स्थानीय तहका विभिन्न ४१ पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको थियो । आयोगले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि उपनिर्वाचन सम्पन्न गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५