बुधबार, माघ ९, २०८१
04:50 | १०:३५

भारत र चीनबाट उल्लेख्य पर्यटक भित्र्याउन पोखरामा एक्सपो

रासस डिसेम्बर १, २०२४

काठमाडौं, मङ्सिर १६ गते । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट उल्लेख्य पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाइस–२०२५)’ गरिने भएको छ ।

आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो (मेला) आयोजना गर्न लागिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहनेछ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी एकहजार बढीको सहभागिता रहनेछ ।

बुडालले एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको बताए । ‘नाइस फर माइस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभइ माइस पर्यटन बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ ।

एक्स्पोका संयोजक सुनिल भट्टराईले छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एव् संघसंस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्त्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले स्थानीय पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले दुई ठूला पर्यटन स्रोतबजारका क्रेता र विक्रेतालाई जोडेर पर्यटकीय गतिविधि र अनुभव आदानप्रदान गर्ने सो कार्यक्रम पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नाइस कार्यक्रम विशेष र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू