क्यान्सरबाट जोगिन खानपिन र जीवन शैलीमा ख्याल गर्न बेलायतका स्वास्थ्यविदहरुको सुझाव
लन्डन– बेलायतस्थित चिकित्सक तथा विज्ञहरुले अर्बुद रोग (क्यान्सर) बाट जोगिन खानपिनमा ख्याल गर्न र जीवन शैलीमा परिवर्तन ल्याउन आग्रह गरेका छन्।
नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) द्वारा शनिबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै एनएचएसमा कार्यरत क्यान्सर विशेषज्ञ (क्लिनिकल अन्कोलोजिष्ट) डा. प्रज्ञा खनालले शंका लागेमा तुरुन्तै जिपीमा जचाई हाल्न सुझाव दिइन् । उनले स्तन क्यान्सर र पाठेघर क्यान्सरबारे छलफल गर्ने कम चलन रहेको जनाउंदै बेलायतमा विभिन्न क्यान्सरको स्क्रिनिङ प्रोग्राम निशुल्क रहेको जनाइन् ।
डा. खनालका भनाइमा खाना अपच वा निल्न गाह्रो भएमा, स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा, निको नहुने गरी खोकी वा स्वर घोक्रो भएमा, कोठीको आकार बढेर ठूलो हुँदै गएमा, निको नहुने घाउ भएमा, घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा, शरीरको तौल घटेमा वा धेरै थकाई लाग्नेमध्ये कुनै पनि लक्षण देखापरेमा क्यान्सर भएको हुन सक्छ ।
यी बाहेक शरीरमा अन्य कुनै प्रकारको बदलाव अचानक आए वा असामान्य लागेमा त्यो पनि क्यान्सरका लक्षण हुनसक्ने उनले बताइन्।
रजिष्टर्ड नर्स एवं क्यान्सर रिसर्च यूकेबाट प्रशिक्षित म्याटरनिटी कम्युनिटी म्याट्रोन सृजना कोइरालाले कार्यक्रम सञ्चालन गर्दै क्यान्सर रोगबारे जानकारी दिएकी थिइन्।
कोइरालाले जीवनशैली र यसले क्यान्सरको जोखिम कम गर्न कसरी मद्दत गर्छ भन्ने विषयमा प्रस्तुति दिएकी थिइन् । क्यान्सर रिसर्च यूकेको तालिमबाट प्राप्त जानकारी अनुसार धुम्रपान र मद्यपान कम गर्दा क्यान्सरको जोखिम कम हुने उनको भनाइ थियो ।
उच्च फाइबर र कम प्रशोधित खाना, कम चिनी र कम नुन भएको स्वस्थ सन्तुलित आहार सिफारिस गरिएको उनले जनाइन् । व्यायाम र दैनिक १० हजार स्टेप हिंड्न र घाममा निस्कंदा ४ देखि ५ रेटिङको ‘एसपीएफ ३०’ सनस्क्रिन क्रिम लगाउन आवश्यक हुने पनि उनले जनाइन् ।
क्यान्सर रिसर्च यूकेबाट तालिमप्राप्त स्वास्थ्य सेवा विज्ञ प्रभु न्यौपानेले क्यान्सरको सेवा उपलब्ध गर्न जनचेतना, सूचनाको कमी मुख्य अवरोधका रुपमा रहेको बताए। साथै सांस्कृतिक वा भाषिक समस्याले पनि मानिसहरुले उपलब्ध सेवा उपयोग गर्न नसकेको न्यौपानेले बताए ।
कुनै पनि शंका लागेमा आफ्नो जिपीसंग सम्पर्क राख्न पनि उनले आग्रह गरे।
उनले म्याक्मिलन यूके, क्यान्सर रिसर्च यूकेले जानकारी प्रदान गर्ने गरेको र एज यूके भन्ने च्यारिटीले निशुल्क यातायात सुविधा दिने गरेको पनि जानकारी दिए ।
कार्यक्रममा सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट एनएचएस) ले छिट्टै रोग पत्ता लगाउनु निकै महत्वपूर्ण हुने बताइन् ।
क्यान्सरबाट बांचेका दिनेश थापाले अस्पतालमा भर्ना नभई आफ्नो नियमित व्यायाम र काम निरन्तर गर्दा निको भएको स्मरण गरे । आधिकारिक सूचनामा मात्र भर पर्न उनको सुझाव थियो ।
क्यान्सर रोग जितेका अर्का नेपाली नटिङ्घम निवासी वीरेन्द्र खड्काले मिर्गौला, फोक्सो र हड्डीको क्यान्सर भएपनि आफू नडराएको अनुभव सुनाए । सामाजिक काम निरन्तर गरेको बताउंदै उनले अहिले आफू पुरै ‘रिकभर’ भएको जनाए । अस्पतालले निजी अस्पतालमा लगेर अप्रेशन गराएपछि आफूलाई क्यान्सर भएको जानकारी दिइएको उनले बताए ।
बावेल (आन्द्रा) क्यान्सरबाट बचेका पाण्डव महतोले हतास नभइ उच्च मनोवल राख्न सुझाव दिए । अल्कोहल पिउने, धेरै काम गर्ने तर ब्रेकफास्ट नखाने गर्दा सन् २००८ मा क्यान्सर भएर धेरै तनाव बेहोर्नु परेको उनले सुनाए ।
सानैदेखि दौड्ने र कमला नदीमा पौड्ने गरेको स्मरण गर्दै धावक समेत रहेका महतोले भने, ‘पार्क रन गर्नोस्। शारीरिक श्रम पनि गर्नोस् ।’
गत वर्ष पारालाइज भएर झन्डै ६ हप्तासम्म कोमामा बसेको पीडा पनि उनले सुनाए । पछि रिह्याबमा पठाइएको जनाउंदै उनले निको भएपछि शारिरिक अभ्यासलाई निरन्तरता दिइरहेको बताए । ‘मैले दौड जारी राखेको छु। हाफ म्याराथन, पार्क रन र लन्डन म्याराथन गर्ने गरेको छु । किप मुभिङ’- उनले भने।
आफ्नो यो तेश्रो जीवन भएको मार्मिक कथा सुनाउंदै उनले अब नेपालमा सात दिनको सात ओटा म्याराथन र मुम्बई म्याराथन पनि गर्न लागेको बताए ।
कार्यक्रम आयोजक एनबीसी यूकेका संयोजक समीरनाथ प्याकुरेलले प्रस्तोता लगायत सबै सहभागीलाई धन्यवाद दिए । उनले प्रारम्भिक पहिचान, जागरुकता तथा सपोर्ट नेटवर्कको आवश्यकताबारे जानकारी गराउन राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) संगको सहकार्यमा क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले वेबिनार आयोजना गरिएको जनाए ।
कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर लाग्ने विभिन्न कारण, यसका लक्षणहरु, प्रारम्भिक परिक्षण र उपचारको महत्त्व, रोकथामका लागि जीवनशैलीमा ल्याउन सकिने आवश्यक परिवर्तन आदिबारे सचेतना जगाउनु रहेको उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५