बुधबार, माघ ९, २०८१
15:41 | २१:२६

स्वेच्छिक मृत्युवरणलाई कानूनी मान्यता दिने पक्षमा बेलायती संसदमा बहुमत

नेपाली लिङ्क नोभेम्बर २९, २०२४

विधयेक पक्षमा अभियन्ताहरुको प्रदर्शन

लन्डन- बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ ले स्वेच्छिक मृत्युवरणका लागि सहयोग खोज्न सक्ने व्यवस्थालाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ ।

शुक्रबार सदनमा पाँच घण्टासम्म चलेको ‘इमोसनल’ बहसपछि गरिएको मतदानमा बहुमत सांसदहरुले ‘असिस्टेड डायिङ’ लाई कानूनी मान्यता दिनुपर्नेमा मत दिएका हुन् ।

बेलायती संसदमा भएको यो ऐतिहासिक मतदानमा ‘असिस्टेड डायिङ’ विधयेकको पक्षमा ३ सय ३० जना सांसदले मत दिएका थिए भने विपक्षमा २ सय ७५ जना सांसदको मत परेको थियो ।

विधयेकको पक्षमा मत दिने सांसदहरुमा लेबर पार्टीबाट वर्तमान प्रधानमन्त्री रहेका किअर स्टार्मरदेखि त्यसअघि कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री रहेका ऋषि सुनकसम्म छन् ।

अहिलेको प्रमुख विपक्षी कञ्जरभेटिभ पार्टी नेतृ केमी ब्याडनोकले भने विपक्षमा मत दिएकी छन् ।

सांसदहरुलाई पार्टीको ह्वीप नलगाएर स्वतन्त्रतापूर्वक मत दिने अधिकार दिइएको थियो ।

बेलायती संसदको तल्लो सदनमा भएको पहिलो मतदानबाट पारित भएको ‘असिस्टेड डायिङ’ सम्बन्धी विधयेकले कानूनकै रुप लिन भने अरु केही चरण पार गर्नुपर्ने हुन्छ । त्यसअघि विधयेकमाथि संसदका दुवै सदनमा कयौं छलफलहरु गराएर स्वीकृत गराइनुपर्नेछ ।

अझै पनि संसदमा विचाराधिन अवस्थामा रहेको ‘असिस्टेड डायिङ’ सम्बन्धि व्यवस्थाले प्राणघातक रोगका कारण ६ महिनाभित्र मृत्यु हुन लागेका वयस्क बिरामीहरुलाई स्वेच्छिक रुपमा आफ्नो जीवन अन्त्य गर्नका लागि सहयोग खोज्न सक्ने अधिकार दिलाउनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू