बुधबार, माघ ९, २०८१
08:05 | १३:५०

परराष्ट्रमन्त्री आरजुले भेटिन् चिनियाँ विदेशमन्त्री

नेपाली लिङ्क नोभेम्बर २९, २०२४

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार भेटवार्ता भएको छ। चीनको छन्दु सहरमा शुक्रबार अपराह्न उनीहरुबीच वार्ता भएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार चीन पुगेकी थिइन् ।

परराष्ट्रमन्त्री डा. राणाको निजी सचिवालयका अनुसार उनीहरुबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएकी छन् ।

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गरेकी थिइन् ।

मन्त्री डा राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन्।

त्यसैगरी नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन्।

पछिल्लो समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेको र यी भ्रमणले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उनले व्यक्त गरिन्।

सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझ्दारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो।

त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको मन्त्री राणाले बताइन्।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू