बिहीबार, मंसिर १३, २०८१
22:42 | ०४:२७

नेतृत्व हत्याउन जबरजस्ती गर्दा संस्था दुर्घटनातिरः आरके शर्मा (भिडियो)

नेपाली लिङ्क नोभेम्बर २७, २०२४

लन्डन । एनआरएनए अभियन्ता एवं कतारका सफल व्यवसायी आर के शर्माले एकताको दशौं महाधिवेशन गराउन सर्वोच्चले दिएको फैसला संस्थालाई सही बाटोमा फर्काउने एउटा सुनौलो अवसर भएको बताएका छन् ।

निजी भ्रमणका सिलसिलामा लन्डन आएका बेला उनले नेपाली लिंकसंग कुरा गर्दै शेष घले नेतृत्वको उच्चस्तरिय समितिले ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी गरेकाले सबैले यसमा साथ दिनुपर्ने सुझाए ।

‘नेपालीका लागि नेपाली’ भन्ने संघको नारा र समृद्ध नेपाल निर्माणको पवित्र उद्देश्य पुरा गर्न पनि एकताको महाधिवेशन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको शर्माले बताए ।

‘जबरजस्ती गरेर नै संस्था दुर्घटनातिर आइपुगेको छ । बद्रीजीले पनि अब बालहठ त्याग्नु पर्छ । उहांले जिन्दगीभर संस्था पकेटमा हालेर लाने पनि होइन् । मलाई आशा छ उहां आउनुहुन्छ’, उनले भने ।

पवित्र उद्देश्यका साथ स्थापित गैर आवासीय नेपाली संघको गन्तव्य मुक्तिनाथ भएपनि पछिल्ला केही वर्षयता यो गन्तव्यविहीन भएर अन्यत्रै मोडिने हो कि भन्ने चिन्ता बढेको शर्माले बताए ।

पछिल्ला दिनमा नेतृत्व कसले हत्याउने भन्नेमा केन्द्रित हुंदा संस्था विवादमा मुछिएको उनको धारणा छ ।

विदेशमा रहेका करिब ८० लाख नेपालीका जल्दाबल्दा विषय जस्तै वंशजको नेपाली नागरिकताको निरन्तराता, लाखौं श्रमिकका सुरक्षित वैदेशिक रोजगारी, उनीहरुले कमाएको पैसाको उचित सदुपयोग, सामाजिक सुरक्षा, विद्धान बुद्धिजिवीहरुले कमाएको ज्ञान, सीप देश विकासमा लगाउने सवाल, भूतपूर्व गोर्खा भन्दा अहिले संघ नेतृत्व विवादमा अल्झिएको शर्माले बताए ।


सर्वोच्च अदालतले दशौं महाधिवेशनसहित त्यसपछिका सबै महाधिवेशन खारेज गरेको सम्बन्धमा पूर्ण पाठमा विस्तृत उल्लेख भएको उनले जनाए । पूर्ण पाठ नआउंदै परराष्ट्र मन्त्रालयले पत्र लेखेपनि त्यो पत्र रद्द भइसकेको उनले बताए ।

सर्वोच्चको दोश्रो फैसलाको गलत अर्थ लगाउने काम भइरहेको भन्दै उनले आफूहरु वाध्य भएर अदालत गएको पनि स्पष्ट पारे । शर्माले अदालतले ११ औं महाधिवेशन पनि स्वतः खारेज हुने फैसला गरेको बताए ।

आफ्नो ४ दिनको बेलायत बसाइका क्रममा सम्पूर्ण अग्रज र अभियन्ताहरुबाट ‘एनआरएनए एकताको विकल्प छैन र यसलाई सबैको साझा बनाउनुपर्छ’ भन्ने अतुलनीय सल्लाह सुझाव मिलेको पनि उनले उल्लेख गरे ।

विश्वभरका एनआरएनए अभियन्ताहरुको सुझावअनुसार अब झन् सशक्त रुपमा ‘अखण्ड एनआरएनए’ को पक्षमा लाग्ने हौसला मिलेको उनले बताए ।

हेरौं आर के शर्मासंग नेपालीलिंकको भिडियो संवाद-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू