सोमबार, मंसिर १०, २०८१
08:55 | १४:४०

बेलायतका इन्जिनियरको अध्ययनमा काठमाडौं उपत्यकामा यसरी चल्न सक्छ मेट्रो रेल

नवीन पोखरेल नोभेम्बर २५, २०२४

लन्डन । बेलायतका इन्जिनियरहरुले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउन सकिने विभिन्न आधार प्रस्तुत गरेका छन् ।

नेपालमा बेला बखत ‘मजाक’ को विषय बन्ने रेल सञ्चालन गर्न असम्भव नभएको इन्जिनियरहरुको धारणा छ ।

विश्वभरका इन्जिनियरहरु आबद्ध एक प्रतिष्ठित संस्था ‘इन्सटिच्यूसन अफ सिभिल इन्जिनियर्स’ र ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके’ ले गत बुधबार संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा बेलायती र नेपाली इन्जिनियरहरुले यसको सम्भाव्यता र दीर्घकालिन प्रभावसहित गुरु योजनाबारे छलफल समेत गरे ।

काठमाडौं उपत्यकामा मेट्रो रेल विकासको गुरुयोजना सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका सिभिल इन्जिनियर डा. विनोदलाल अमात्य काठमाडौं उपत्यकाको ट्राफिक चाप घटाउन, क्षेत्रीय सम्पर्क बढाउन, वातावरणीय प्रदुषण घटाउन, शहरी विकास, रोजगारी र अर्थतन्त्र सुधारका लागि पनि रेल जरुरी भएको बताउंछन् ।

‘यसले शहर पुनर्जागृत (अर्बन रिजेनेरेसन) पनि हुन्छ । मोविलिटी बढेपछि उत्पादनशिलता पनि बढ्छ’, इन्सटिच्यूसन अफ सिभिल इन्जिनियर्सका फेलो समेत रहेका उनले भने ।

डा. अमात्यले तयार पारेको गुरु योजनामा काठमाडौं उपत्यकामा ५ वटा लाइन– काठमाडौं लाइन (बनेपा, धुलिखेल, भृकृटीमण्डप भएर थानकोट), पाटन लाइन (गोदाबरीदेखि भृकुटीमण्डप, बुढानिलकण्ठ), विष्णुमती लाइन (दक्षिणकाली, चोभार, बल्खु, टंकेश्वर, नयां बसपार्क, धर्मस्थली), चक्रपथ लाइन (रिंगरोड आसपास) र भ्याली लाइन (आउटर रिंगरोड) प्रस्ताव गरिएको छ ।

यो कुल १९२.५ किमी लामो हुनेछ भने ८५ किमी भूमिगत टनेल र १०७.५ किमी ओभरहेड (जमिनमाथि) हुनेछ । यसमा अण्डरग्राउण्ड स्टेशन ३९ र ओभरग्राउण्ड स्टेशन ४९ वटा रहनेछन् ।

३६.५ किमी दुरीको काठमाडौं लाइन बनाउन २.६ बिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमा १५ किमी टनेल र २१.५ किमी जमिन माथि हुनेछ भने ओभरग्राउण्ड स्टेशन १२ वटा र अण्डरग्राउण्ड स्टेशन ९ वटा रहनेछन् ।

गोदाबरीदेखि भृकुटीमण्डप, बुढानिलकण्ठ जाने २६ किमी लामो पाटन लाइनमा १४.५ किमी टनेल र ११.५ किमी जमिनमाथि बनाउनु पर्ने बताउंछन् डा. अमात्य । यसको 
ओभरग्राउण्ड स्टेशन ९ र अण्डरग्राउण्ड स्टेशन ११ वटा रहनेछ । अनुमानित बजेट २ अर्ब अमेरिकी डलर छ ।

काठमाडौं लाइन संचालन खर्च १७ देखि ४३ मिलियन डलर वार्षिक र पाटन लाइनका लागि १२ देखि ३१ मिलियन अमेरिकी डलर लाग्ने अनुमान छ । निजी व्यवसायिक प्रतिष्ठान, सफ्ट लोन, वैदेशिक लगानी, करदाता आदिबाट बजेट जोहो गर्न सकिन्छ ।


इंग्ल्याण्डको युनिभर्सिटी अफ वारवीकमा अध्ययनरत १५ जना विद्यार्थीले सन् २०१८ मा पनि उपत्यकामा मेट्रो रेलबारे ६ महिना अनुसन्धान गरेका थिए । काठमाडौंको माटोमा सुरुङ प्रविधि कस्तो हुन्छ भन्ने विषयमा केन्द्रित थियो अनुसन्धान । उपत्यकामा जमिनको सतह समथल छैन् । त्यसकारण रेलको ट्रयाक राख्न १५ देखि ३५ मिटर जमिनमुनी सुरुङ जान सक्छ किनभने रेल धेरै उकालो ओरालो गर्न सक्दैन । टनेल ५.४ देखि ५.८ डायमिटर हुनुपर्छ । भूकम्प प्रतिरोधक बनाउन कन्क्रिटको स्ल्याब २७५ देखि ३०० एमएम बाक्लो ल्याएर राख्नुपर्छ ।

मेट्रो रेल सञ्चालन गर्दा एकीकृत यातायात, संस्कृति तथा सम्पदा संरक्षण संवर्धन, मोबिलिटी एण्ड कनेक्टिभिटी, अर्बन रिजेनेरेसन, हरियाली कायम, भूमिगत ठाउंको प्रयोग, अर्थतन्त्र जस्ता विषयलाई पनि हेरिनुपर्ने डा. अमात्यको भनाइ छ ।

मेट्रो रेल निर्माण कार्य गर्न सरकारी संस्थाहरु, निर्माण व्यवसायी र परामर्शदाताको कार्यक्षमता वृद्धि, विश्वविद्यालयको अनुसन्धान क्षमता वृद्धि, राजनीतिक नेताहरुको क्षमता वृद्धि, निर्माण सामग्रीहरुको गुणस्तर वृद्धि गर्ने योजना र नागरिकहरुमा सामाजिक जागरण जरुरी देख्छन् उनी ।

बेलायतमा लन्डन अण्डरग्राउण्ड लिमिटेड भएजस्तै सरकारले मेट्रो रेल प्राधिकरण बनाएर त्यस अन्तर्गत 
मेट्रो रेल बनाउने जिम्मा दिनुपर्ने उनको सुझाव छ ।

‘नेपालमा रेल विभागको कार्यक्षमता सिमित छ । अहिलेको सरकारी संरचनाले काम गर्न सम्भव छैन किनकि राजनीतिक अस्थिरता भइरहन्छ’, अमात्यले भने, ‘ब्रिटिश सरकारबाट रेल यातायातमा नीति निर्माणबारे सुझाव, पूर्वाधारको प्रारम्भिक काम, अनुसन्धान, विकास अनि कार्यक्षमतामा सहयोग लिन सकिन्छ ।’

डा. अमात्यले नेपाल सरकारका मन्त्रीहरुलाई आफ्नो गुरुयोजना दिइसकेको बताए । गुरु योजनाको १५ च्याप्टर समेटेर छिट्टै पुस्तक निकाल्न ९५ प्रतिशत काम सकिइसकेको उनले जनाए ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थीले समेत काठमाडौं उपत्यकामा भूमिगत स्टेशनको आर्किटेक्चरल डिजाइन (नक्सा) गरेका थिए ।

दक्षिण कोरिया र चिनिया परामर्शदाताहरुले समेत उपत्यकामा मेट्रो रेलबारे अध्ययन गरेपनि यसले मुर्तरुप लिन सकेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू