आइतबार, मंसिर ९, २०८१
14:03 | १९:४८

बेलायतमा हराइरहेका सचिन अझै भेटिएनन्, खोजी गरिदिन परिवारको आग्रह

नेपाली लिङ्क नोभेम्बर २४, २०२४

लन्डन । विगत आठ दिनदेखि बेलायतमा हराइरहेका एक नेपाली विद्यार्थी अझै भेटिएका छैनन् । उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको छ ।

युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय सचिन भट्टराई विगत आठ दिन देखि सम्पर्कविहीन छन् ।

गत १६ नोभेम्बर शनिबार साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ। यूके ब्रिस्टलको मार्स्टन रोड बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए ।

सो राती डेरामा नफर्केपछि उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उनको परिवार र सोमबार प्रहरीलाई खबर गरेका थिए ।

गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित छ । सचिनको परिवारले उनको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।

‘उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर दुई महिना पहिले मात्रै बेलायत पुगेको छोरा बेपत्ता भएको समाचार सुन्दा हामी छाँगाबाट खसे जस्तो भएका छौं। हाम्रो छोराको वस्तुस्थिति पत्ता लगाई दिन हामी ब्रिटिश प्रहरी, लन्डनस्थित नेपाली दूतावास तथा बेलायतस्थित नेपाली समुदाय एवं संघसंस्थाहरुलाई हार्दिक आग्रह गर्दछौं’, सचिनका पिता शशीकान्त भट्टराईले भने ।

उनको खोजीका लागि बेलायत प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ ।

उनलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उनीनिकट स्रोतले जनायो ।

लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दवाडीले पनि भट्टराईको वस्तुस्थिति पत्ता लगाउन दूतावासले सक्दो प्रयास गरिरहेको बताए। ‘बेलायतमा पढ्न आएको विद्यार्थी बेपत्ता हुनु हामी सबैका लागि अत्यन्तै दुखको कुरा हो। हामी ब्रिस्टल प्रहरीसंग सम्पर्कमा छौं र सचिनको बारेमा कुनै पनि जानकारी भए प्रहरी वा दूतावासलाई जानकारी गराइदिनु हुन आग्रह गर्दछौं’-उनले भने ।

ब्रिस्टल प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ।

सचिनबारे कुनै जानकारी भए वा उनलाई भेटे बेलायती प्रहरी वा उनकै कोठामा बस्ने साथीको मोबाइल नम्बर 07570734432 मा खबर गर्न आग्रह गरिएको छ ।

नेपाल सम्पर्क: +977 9816317102 / +977 9842283286

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू