भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, मंसिर ७, २०८१– गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार भर्चुवल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन आग्रह गरे ।
‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,’ गृहमन्त्री लेखकले भने, ‘शान्ति सुरक्षा नभएर पुनःमतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।’
निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने स्थिति आउन नदिन आग्रह गरे ।
‘लोकतन्त्रको आधार भनेकै निर्वाचन हो,’ मन्त्री लेखकले भने, ‘त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस् ।’ उनले पछिल्लो समय मुलुकमा लागूऔषधको अवैध कारोवार र दुर्व्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखापरेको बताए ।
जिल्लामा लागूऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा जोड दिन निर्देशन गर्दै गृहमन्त्री लेखकले भने, ‘भ्रष्टाचार र अवाञ्छनीय स्वीकार्य छैन । त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेको छ । यो पनि चिन्ताजनक छ ।’
उनले साइबर अपराध र ‘हेट स्पीच’ का घटना बढेका भन्दै त्यसतर्फ समेत सजग हुनुपर्ने अवस्था रहेको बताए ।
गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावट नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।
मन्त्री लेखकले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको बताए । ‘२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,’ उनले भने, ‘जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५