मार्सल आर्टस प्रतियोगितामा भाग लिन सन्जितकुमार बेलायतमा
काठमाडौँ —डब्लूएमएसी वेल्स खुला मार्सल आर्टस प्रतियोगितामा भाग लिन सन्जितकुमार राई शुक्रबार यूकेको साउथ वेल्स प्रस्थान गरेका छन् ।
इबीबीडब्लू भेल लिजर सेन्टर साउथ वेल्समा नोभेम्बर २४ तारिख हुने प्रतियोगितामा सन्जितले २ स्पर्धामा भाग लिनेछन् । उनले चाइनिज क्रिएटिभ फम्स र चाइनिज ट्रेडिसनल फम्समा प्रतिस्पर्धा गर्ने तालिका छ ।
सन्जितलाई नेपाल उमा कुङफु संघका महासचिव कमल मगरले बिदाइ गरे । सन्जित नेपाल उमा कुङफु संघका नवनिर्वाचित अध्यक्ष हुन् ।
सन्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जितेका छन् । उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्यू जर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् ।