बिज एजुकेसनद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ल्यापटप सहयोग
लन्डन । बेलायतको भरपर्दो शैक्षिक परामर्शदाता कम्पनी बिज एजुकेसनले राष्ट्रिय आविष्कार केन्द्रलाई ल्यापटप सहयोग गरेको छ ।
बिज एजुकेशनका प्रबन्ध निर्देशक हरि कार्कीले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई करिब १ लाख ६० हजार रुपैंया मूल्य पर्ने म्याक बुक एअर ल्यापटप हस्तान्तरण गरेका हुन् ।
पुनले सहयोगप्रति आभार व्यक्त गर्दै उक्त ल्यापटप राष्ट्रिय आविष्कार केन्द्रले संचालन गरेको आइसिटी ल्याव पोखराका लागि धेरै उपयोगी हुने बताएका छन् ।
बिज एजुकेशनका निर्देशक हरि कार्कीले करिब दुई वर्ष अघि पनि आविष्कार केन्द्रलाई २ हजार ३ सय ९९ पाउण्ड प्रदान गरेका थिए ।
सोही बेला बिज एजुकेशनको आयोजनामा भएको एक अन्तर संवादमा केन्द्रलाई १३ हजार पाउण्ड (करिब २० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भएको थियो ।
बेलायतस्थित युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा पुनसँग आयोजित अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्ट एक्लैले १० हजार पाउण्ड प्रदान गरेका थिए ।
कार्कीले यसअघि ट्विन टु स्ट्रोक पेट्रोल इन्जिन समेत प्रदान गरेका थिए । कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कम्पनीले बेलायतमा विभिन्न गतिविधि गरि केन्द्रलाई सहयोग गर्दै आएको बताए ।