बिहीबार, मंसिर ६, २०८१
12:57 | १८:४२

‘फर्मासिष्ट’ले पुस ४ बाट अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

रासस नोभेम्बर २१, २०२४

काठमाडौँ । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।

नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो ।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए ।

उनले भने, “ड्रेसकोडको पालना भए/नभएको परिषद्बाट नियमित अनुगमन हुनेछ । पालना नभएको अवस्थामा परिषद्को नियमावली, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।”

परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको ड्रेसकोड लगाउनुपर्ने नियम बनाएको छ ।

त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू