बुधबार, माघ ९, २०८१
08:09 | १३:५४

एनआरएनए एकता महाधिवेशन जेठभित्र गर्ने निर्णय

बद्री केसी तालाबन्दी गरेर हिंडेपछि आक्रोश

नेपाली लिङ्क नोभेम्बर १९, २०२४


काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिको पहिलो बैठक मंगलबार बसेको छ ।

बालुवाटारस्थित संघको केन्द्रीय  कार्यालयमा बस्ने तय भएपनि बद्री केसी पक्षले कार्यालय बन्द गरेर सबै कर्मचारीलाई आकस्मिक बैठक गर्न एउटा होटेलमा लगेपछि  बालुवाटारकै नेपाल हाउसमा समितिको बैठक बसेको थियो।  

बैठकले आगामी मे २०२५ (जेठ २०८२) भित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको समितिका एक सदस्य विनोद कुँवरले जानकारी दिए । 

बैठकले सर्वोच्चको फैसलाअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने प्रतिबद्धतासहित जेठभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको उनको भनाइ छ । 

यस्तै एकता महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने, महाधिवेशन गर्नका लागि कार्यविधि बनाउन सहजीकरणका लागि परराष्ट्रलाई अर्को पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा समितिका १३ मध्ये बद्री केसी र पूर्वअध्यक्ष भवन भट्ट अनुपस्थित रहे । बद्री केसी काठमाडौँमै रहे पनि सीइओ राजेन्द्र राउतसहित सम्पूर्ण कर्मचारीलाई बुढानिलकण्ठस्थित लेमन ट्री होटेल लगेर आकस्मिक बैठक गरेका थिए। उनी र राउत दुवैले एनआरएन अभियन्ताहरुको फोन पनि उठाएनन् ।

त्यसपछि घलेसहित समितिका सदस्यहरुले बालुवाटार मै रहेको नेपाल हाउसमा गएर बैठक गरेको थियो। बैठकमा पूर्व अध्यक्ष जीवा लामिछाने, रामप्रताप थापा, कुल आचार्य लगायत जुमबाट सहभागी भएका थिए । 

बैठकमा बोल्ने सबै सदस्यले एकताको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । केसीले एकताका लागि राखिएको बैठकप्रति असहयोग गरेर कार्यालय बन्द गरेकामा सदस्यहरूले आक्रोश पोख्दै खेद ब्यक्त गरेका थिए। 

एनआरएनए अभियन्ता गंगाधर गौतमले सबै एनआरएनहरुको साझा संस्था, एनआरएन भवनलाई विना सूचना तालाबन्दी गर्ने कार्य अत्यन्तै निन्दनीय र तल्लो स्तरको भएको बताए। उनले जबर्जस्ती संस्था कब्जा गरिरहेको सानो गुट अब छिट्टै पाखा लाग्ने चेतावनी पनि दिए।  

उता बद्री केसी पक्षले भने घले समिति नै अवैध भएको दावी गर्दै आफूहरुसंग समन्वय गरेर मात्रै एकताको अधिवेशन गराउन सकिने जनाएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू