बुधबार, माघ ९, २०८१
07:49 | १३:३४

साइबर अपराधको आरोपमा पक्राउ दुर्गा प्रसाईं हिरासतमा

नेपाली लिङ्क नोभेम्बर १९, २०२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।

गत असोज ६ मा पनि प्रहरीको साइबर ब्युरो टोलीले उनलाई पक्राउ गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट मंगलबार पक्राउ गरेको हो । सोमबार प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबीसहित प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढाइएको सीआईबी प्रमुख एआईजी दीपक थापाले बताए ।

प्रसाईंलाई अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरी स्रोतका अनुसार प्रसाईंले भने आफू क्यान्सर सर्भाइभर रहेको र स्वास्थ्यमा समस्या रहेको भन्दै अस्पताल भर्ना हुन खोजेका थिए ।

तर उनको स्वास्थ्य जाँच गर्ने क्रममा वीर अस्पतालका डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको बताएपछि प्रहरीले उनलाई वृत्त सिंहदरबार हिरासतमा राखेको हो ।

उनलाई अदालत पेश गर्न नभ्याइएकाले बुधबार मात्र अदालत पेश गरिने भएको छ । प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू