शनिबार, पुष ६, २०८१
15:58 | २१:४३

मह जोडी एक दशकपछि पुनः मञ्चमा

रासस नोभेम्बर १६, २०२४

काठमाडौँ । नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउन सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन् ।

‘मह जात्रा’ प्रहसनमार्फत पुनः मञ्चमा फर्किएका महलाई हेर्न काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा दर्शकको भीडभाड छ । कार्यक्रममा सबै वर्ग र समूहका दर्शकको उपस्थिति देखिएको र महको प्रस्तुतिमा रमाएको कलाकार किरण केसीले जानकारी दिए ।

“कार्यक्रममा दर्शकहरूको भीड देख्न पाइयो, जसले यो जोडीप्रतिको दर्शकको माया र सम्मानलाई पुनः एकपटक झल्काएको छ । हामीले विदेशमा समेत यही शीर्षक यसै वर्ष कार्यक्रम गरेका थियौँ । विदेशपछि स्वदेश पाएको माया अद्भुत छ”, कलाकार केसीले भने ।

यो कार्यक्रम मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ । यसमा कलाकार श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यङ्ग्यमा निरन्तरता दिने अठोट र कलाकार आचार्यसँगको अटुट सहकार्यका कारण यो प्रहसन सम्भव भएको कलाकार केसीको बुझाइ छ ।

‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हास्यशैलीमार्फत प्रस्तुत गर्दै गम्भीर रूपमा सोच्न प्रेरित गर्नेछ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना र सांस्कृतिक कुरीतिहरूलाई गरिएको व्यङ्ग्य दर्शकले रुचाएका छन् ।

प्रहसनमा कलाकार राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभुषा बस्नेतले पनि आफ्नो प्रस्तुति दिइरहेका छन् ।

मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा प्रस्तुत यो कार्यक्रम ‘मह जात्रा’ ले दर्शकलाई हँसाउने मात्र होइन, समाजप्रति नवीन दृष्टिकोण राख्न प्रेरित गर्ने विश्वास आयोजकको छ । मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९ गतेदेखि सुरु भएको ‘मह जात्रा’ मङ्सिर  १, ४, ५, ६, १२, १३, १७ र १८ सम्म चल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू